
काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने र त्यस दुस्कर्मबापत मोटो रकम लिने अभियोगमा नेकपा एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी भएपछि नेपाली राजनीति एकाएक गर्माउन पुग्यो । अझ राजनीति र निजामतिका उच्च पदस्थ व्यक्ति धमाधम पक्राउ पर्न थालेपछि नेपाली जनचासो फेरि एकपटक तरङ्गित सँगै केन्द्रीत भएको छ ।
आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रम हुँदै गर्दा पक्राउ पूर्जी जारी भएका रायमाझी कार्यक्रम स्थलबाटै गायब भएपछि विभिन्न अड्कलबाजी भए । भारतमा लुकेको आशंकामा प्रहरी टोली भारतसम्म पुग्यो । यता फरार रायमाझीलाई एमालेले नै संस्थागत रुपमा लुकाएको भनी एमालेमाथि निरन्तर प्रहार भैरह्यो । अझ कतिले त एमाले अध्यक्ष केपी ओलीले बालकोटमै लुकाएको भन्नसम्म भ्याए तर नेकपा एमालेको सचिवालय बैठकले उनलाई सचिवबाट निलम्बन गर्दै प्रहरीसामु उपस्थित भएर अनुसन्धानमा सहयोग पुर्याउन निर्देशन दियो । यसपछि आरोप केही मत्थर भए तापनि शान्त भएन ।
बिपरीत राजनीतिक नेतृत्व यो प्रकरणको उठानपछि निरन्तर भेटघाट गर्नु र गोप्य छलफलमा जुट्नुले कतै प्रकरणलाई प्रकरान्तर गर्न खोजिँदै त छैन ? भन्ने शंका गर्ने प्रशस्त ठाँउहरु थिए, छन् ।
अन्ततः पक्राउ पूर्जी जारी भएको ११ औँ दिनपछि फरार रायमाझी काठमाडौँ बुढानीलकण्ठबाट अर्घाखाँचीकै नारायण प्रसाद पौडेल निवासबाट पक्राउ परे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा डामिएर फरार रहेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई लुकाइछिपाई आफ्नो निवासमा आश्रय दिने अर्घाखाँची घर भै हाल काठमाडौं बुढानीलकण्ठमा बस्ने नारायण पौडेल पनि झण्डै–झण्डै रायमाझी प्रवृत्तिकै मान्छे हुन् ।
उनै रायमाझीकै आशीर्वादमा विभिन्न राजनीतिक नियुक्ति लिँदै लाभको पद प्राप्त गरेका पौडेल राजनीतिक दल परिवर्तनमा पनि उत्तिकै माहिर मानिन्छन् । हाल काठमाडौको एक सामुदायिक क्याम्पसको क्याम्पस प्रमुख समेत रहेका उनी क्याम्पसको जर्जर अवस्थाका प्रमुख कारक मध्ये एक हुन् ।
अहिले ठगी, मानव बेचविखन एवम् राष्ट्रद्रोहको संगठित अपराधजस्तो गम्भीर अभियोगमा प्रहरीबाट पक्राउ पुर्जी जारी भएका तर प्रहरीकै आँखा छली भागेर कानुनमाथि नै चुनौती दिने अर्काे गम्भीर अपराध गरिरहेका (अ) माननीय रायमाझीलाई आफ्नो घरमा लुकाइछिपाई आश्रय दिनु भनेको अपराधलाई बढ्वा दिनु र अपराधीलाई सहयोग गर्नु हो । कतै यो प्रकरणमा पौडेल पनि त दोषी छैनन् ? भन्ने प्रशस्त शंका गर्न सकिन्छ ।
यसर्थ अपराधीलाई लुकाइछिपाइ सहयोग गर्ने र अपराधलाई बढ्वा दिने पौडेललाई पनि यथाशिघ्र गिरफ्तार गरी अनुसन्धान गरियोस् सदाचारको शिक्षा दिने शैक्षिक संस्थाको प्रमुख नै भ्रष्टाचारको मतियार बनेकोले सामुदायिक क्याम्पसको क्याम्पस प्रमुख पदबाट पनि यथाशिघ्र बर्खास्त गरियोस् ।
पौडेलले अहिले विभिन्न मिडियामा अनेक किसिमका स्पष्टीकरण दिँदै हिड्नु पानी माथिको ओभानो बन्ने प्रपन्च मात्र हो ।





