सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री



काठमाडौँ । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने भएका छन् । आज बस्ने बैठकमा प्रि-बजेटमाथि सांसदहरूले राखेका धारणाको अर्थमन्त्रीले जवाफ दिने कार्यसूची छ ।

गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् । गत वैशाख २५ देखि प्रि बजेटका बारेमा छलफल भए अनुसार सांसदहरूले आ-आफ्नो धारणा राखिसकेका छन् । अर्थमन्त्री महतले राष्ट्रियसभामा सा‌सदहरुले उठाएका सवालको जवाफहरू भने हिजै दिइसकेका छन् । उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले प्रि बजेटका बारेमा छलफल सुरु गरेका थिए । गत बुधवार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो । शुक्रवार र शनिवार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शीर्ष नेताका बिचमा प्रारम्भिक चरणका छलफल भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्