दूध प्रशोधन गरेर विभिन्न परिकार उत्पादनको तयारीमा सहकारी



तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दूधबाट विभिन्न परिकार उत्पादनको तयारी थालेको छ । सहकारीले दूध प्रशोधन गरेर विभिन्न परिकार उत्पादनको तयारी थालेको हो । यसका लागि सहकारीले कृषि तथा पशुपक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना अन्तर्गत विकेन्द्रित आयोजना सहयोग एकाई पोखरासँग सम्झौता गरेको छ ।

आयोजनामार्फत् दुलेगौँडा बजारमा डेरी उद्योग स्थापना गरी दूधबाट परिकार उत्पादनको अन्तिम चरणमा पुगेको सहकारी संस्थाका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए ।

दूध प्रशोधन गरी घ्यू, पनिर, दही लगायतका परिकार उत्पादनका लागि रु ९९ लाख २९ हजार तीन सयको योजना लागत सहभागितामा सञ्चालन गरिने सिग्देलले बताए । त्यसमध्ये रु ४९ लाख ६४ हजार छ सय ५० अनुदान प्राप्त हुनेछ, भने बाँकी रकम सहकारीले साझेदारी गर्नेछ । “दूध प्रशोधन गरी आवश्यक परिकार उत्पादनका लागि उपकरण आइसकेका छन्, छिट्टै नै उत्पादनको चरणमा जान्छौं,” उनले भने ।

पाँच वर्ष अगाडि स्थापना भएको सहकारीले यस क्षेत्रका किसानले उत्पादन गरेका दूध बिक्री वितरण गर्दै आएको छ । सहकारीमार्फत् दैनिक एक हजार लिटर दूध बिक्री हुने गरेको छ । सहकारीले किसानलाई भैँसीको दूधको रु एक सय र गाईको दूधको रु ९० प्रतिलिटर उपलब्ध गराउँदै आएको छ ।

“किसानको दूध बिक्री वितरणका लागि सहकारीले नै गाडी पठाएर सङ्कलन गर्दै आएको छ, त्यसका लागि छ ठाउँमा सङ्कलन केन्द्र स्थापना गरेका छौँ,” उनले भने, “दूध बिक्रीका लागि बजारको समस्या छैन । स्थानीय बजारमै दूध खपत हुन्छ ।”

सहकारीले किसानबाट दैनिक एक हजार दुई सय लिटर दूध सङ्कलन गर्दै आएको छ । डेरी उद्योग स्थापनाका लागि रु तीन करोड लगानी भएको छ । सहकारीले डेरी स्थापनाका लागि रु एक करोड ९० लाखमा जग्गा खरिद गरेको छ ।

उत्पादन र उपभोग गर्ने लक्ष्यसहित सहकारी संस्थाले डेरी उद्योग स्थापना गरिएको बताइएको छ । सहकारीमा एक हजार दुई सय सात पुरुष र एक हजार दुई सय ६८ महिला आवद्ध छन् । सहकारीको रु ११ करोड शेयर पुँजी रहेको छ । विसं २०७५ वैशाखदेखि सञ्चालनमा आएको सहकारीले कृषि र उत्पादनमा जोड दिँदै लगानी गर्दै आएको छ ।

सहकारीमार्फत् स्थापित डेरी उद्योगबाट उत्पादित परिकार बजारीकरणमा सहयोग पुगोस् भन्नका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट सहयोग गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.बालकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्