
काठमाडौँ । घट्दो क्रममा रहेको शेयर बजारले आज पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको तेस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक रातो देखिएको हो ।
नेप्से परिसूचक आज नौ दशमलव १८ अङ्कले घटेर एक हजार आठ सय ५७ दशमलव २३ अङ्कमा कायम भएको छ । नेप्सेका अनुसार दुई सय ६५ वटा कम्पनीको २१ लाख ५५ हजार पाँच सय ८६ कित्ता शेयर १८ हजार आठ सय ७६ पटक खरिद बिक्री हुँदा कारोबार रकम रू ६२ करोड दुई लाख ६६ हजारमा खुम्चिएको छ ।
उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५६ र म्युचुअल फन्ड शून्य दशमलव ०३ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह ५९ दशमलव ६९ र होटल तथा पर्यटन समूह ५२ दशमलव ६० अङ्कले घटेको छ ।





