लालबन्दीमा हालसम्म अढाइ सय क्षयरोगका बिरामी फेला



सर्लाही । लालबन्दी नगरपालिकामा हालसम्म करिब अढाइ सय जना क्षयरोगी फेला परेका छन् । सत्र वडा रहेको सो नगरपालिकामा हालसम्म दुई सय ५४ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीले जानकारी दिए । उनका अनुसार नगरपालिकामा गत आर्थिक वर्ष २०७८/७९ मा एक सय ५७ र चालु आव २०७९/८० को हालसम्म ९७ गरी दुई सय ५४ जना क्षयरोगका बिरामी फेला परेका हुन् । नगरभित्र क्षयरोगीका बिरामीको खोजतलास भइरहेको साथै हालसम्म फेला परेका क्षयरोगका बिरामीले नियमित औषधि सेवन गरिरहेका नगर स्वास्थ्य शाखाले जनाएको छ ।

विशेषगरी नगरभित्रका दलित, गरिब एवम आर्थिक रूपमा विपन्न समुदायमा यो रोग बढी देखा परेको पाइएको नगर स्वास्थ्य शाखाका सह संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिए । क्षयरोगमुक्त नगरपालिका घोषणा अभियानको सुरु गर्दै गरिएको कार्यक्रममा नगर स्वास्थ्य शाखाले नगरभित्र हालसम्म दुई सय ५४ जना मानिसमा क्षयरोग देखा परेको र अरु मानिसको पनि पहिचान गर्ने काम भइरहेको जनाएको छ ।

नेपाल सरकारले ल्याएको नीतिलाई स्थानीय तहका रुपमा नगरपालिकाले पनि अवलम्बन गरेको र नगरभित्र हाल रहेका क्षयरोगीलाई नियमित औषध सेवन गर्न आग्रह गर्दै अरु क्षयरोगीको पहिचान गर्ने काम पनि गरिरहेको नगर प्रमुख वासुदेव अधिकारीले बताए । उनले नगरपालिकालाई क्षयरोगमुक्त बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे । वर्तमान अवस्थामा क्षयरोग कम चर्चाको रुपमा हेरिएको भए पनि क्षयरोग एकदम जर्जर अवस्थामा रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्