नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतको जीवनी



काठमाडौं । वि.सं २०१६ कात्तिक १९ मा नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ कविलासमा नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महत जन्म भएको हो । फुलब्राइट छात्रवृत्ति अन्तर्गत संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी (पिएचडी) गरेका डा. महत हाल नेपाली कांग्रेसको प्रवक्ता एवम् केन्द्रीय सदस्य हुन् ।

कक्षा–७ मा अध्ययनरत रहँदादेखि नै नेपाल विद्यार्थी सघंमा आवद्ध उनले २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्रमोर्चामा रहेर कार्य गरेका छन् । विसं २०४२ को सत्याग्रहमा सक्रिय भूमिका खेलेका डा. महत त्यसबेला नेपाल विद्यार्थी संघको महासचिव थिए ।

कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डा. महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए । पार्टीले दिएका जिम्मेवारीहरू कुशलतापूर्वक पूरा गर्ने उनले वि.सं २०५६ देखि कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गरेका उनी २०५९ सालदेखि निरन्तर पार्टीको केन्द्रीय सदस्य रही आएका छन् ।

उनले २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र २०७९ को मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचनमा पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिको संयोजकको भूमिका सफलतापूर्वक सम्पन्न गरेका छन् ।

विसं २०६३ को अन्तरिम व्यवस्थापिकाको सदस्यबाट संसद्को यात्रा आरम्भ गरेका डा. महत पहिलो र दोस्रो संविधानसभा सदस्य रहिसकेका छन् । त्यसैगरी वि.सं २०७० देखि २०७४ सम्म विद्यायकको रुपमा समेत रहिसकेका छन् । हाल उनी प्रतिनिधिसभा सदस्य हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सल्लाहकारका रुपमा वि.सं. २०५८ देखि २०५९ सम्म काम गरेका डा. महतले राष्ट्रि«य योजना आयोगको सदस्यका रुपमा पनि कार्य गरिसकेका छन् ।

उनले यसअघि परराष्ट्रमन्त्री, उर्जामन्त्री र परराष्ट्र राज्यमन्त्रीका रूपमा रहेर काम गरिसकेका छन् । उनी उर्जामन्त्री रहेका बेला राष्ट्रिय गौरवको रुपमा रहेको माथिल्लो तामाकोशी आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने तथा ढल्केवार–मुजफ्पुर ४०० के.भी. प्रशारण लाइन निर्माणको निर्णय गरेका हुन् ।

त्यस्तै परराष्ट्रमन्त्री हुँदा उनको पहलमा चीनसँगको बिआरआई सम्झौताका साथै नेपालले गण्डक सम्झौताबाट पाउनुपर्ने सुविधाका लागि कुरा उठाइ भारतीय पक्षलाई प्रतिबद्ध गराएका थिए । नेपालको कूटनीतिक सन्तुलनका लागि महत्वपूर्ण काम गरिसकेका व्यक्ति डा. महत मुलुकको अर्थतन्त्रमा चुनौती आइरहेको वर्तमान अवस्थामा देशको अर्थमन्त्री बनेका छन् ।

अर्थशास्त्रमा विद्यावारिधी गरेका डा. महतले आगामी दिनमा यो चुनौतीलाई सामना गर्नेगरी काम गर्नुपर्ने चुनौती थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्