पहिलोपटक मन्त्री बनेका यी अनुहारहरू, भन्छन्- ‘जनताको ऋण तिर्छौँ’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार सातौंपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । त्यससँगै मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ ।

पूर्ण मन्त्रिपरिषद् २३ सदस्यीय हुन्छ । अझै ५ मन्त्रालय भने नेतृत्वविहीनको अवस्थामै छन् । यद्यपि प्रधानमन्त्री प्रचण्डले भने मूलभूतरूपमा मन्त्रिपरिषद्ले पूर्णता पाएको बताउँदै अब देश विकास र समृद्धितर्फ उन्मुख हुने दाबी गरेका छन् ।

उनले केही पुराना र केही नयाँ अनुहार गरी मन्त्रिपरिषद् विस्ता गरेका छन् । शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्‌मा पहिलोपटक मन्त्री बनेका ५ अनुहारहरू छन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष डा. वेदुराम भुसाल पहिलोपटक मन्त्री बनेका छन् । उनी कृषि तथा पशुपंक्षीमन्त्री बनेका छन् । यस्तै एकीकृत समाजवादीकै उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् । सङ्घीय सरकारमा उनी पनि पहिलोपटक मन्त्री बनेका हुन् । यद्यपि यसअघि कर्णाली प्रदेश सरकारमा भने उनी अर्थमन्त्रीमन्त्री बनेका थिए ।

माधवकुमार नेपाल नेकपा (एमाले) बाट छुट्टिँदा प्रदेश सभामा ‘फ्लोर क्रस’ गरेपछि चर्चामा आएका ज्वाला पहिलोपटक मन्त्री बनेका हुन् ।

यस्तै रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पनि पहिलोपटक मन्त्री बनेकी छन् । उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेकी छन् । यसअघि उनी खासरूपमा राजनीतिमा सक्रिय थिइनन् ।

टीकापुर घटनामा दोषी ठहर भइ कारागार जीवन कटाइरहेका उनका पतिसमेत रहेका रेशमजस्तै पहिचानको आन्दोलनमा योगदान गरेकाहरूलाई राज्यले हेपिरहेको र उनीहरूको पक्षमा राजनीतिक वकालत गर्दै उदाएको नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ पहिलोपटक मन्त्री बनेकी हुन् ।

यस्तै नेपाली कांग्रेसका रमेश रिजाल र सीता गुरुङ पनि पहिलोपल्ट मन्त्री बनेका छन् । रिजाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् । उनी प्रतिनिधि सभामा तेस्रोपटक जितेपछि मन्त्री बनेका हुन् ।

सीता सहरी विकासमन्त्री बनेकी छन् । उनी पनि पहिलोपटक मन्त्री बनेकी हुन् । उनी यसअघि २०७४ मा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राज्यमन्त्री बनेकी थिइन् ।

पहिलोपटक मन्त्री बनेकाहरूले आफूले जनताको ऋण तिर्ने बताएका छन् । कृषिमन्त्री डा. वेदुराम भुसालले पदभार ग्रहण गर्दै भनेका छन्, ‘कृषिलाई अघि नबढाइकन देश अगाडि बढ्न सक्दैन । मैले जत्ति सक्छु यसैमा समय खर्च गर्नेछु । जनताले दिएको सद्भाव र गरेको अपेक्षालाई पुर्‍याउने मेरो लक्ष्य रहनेछ । जनताको ऋण तिर्नेछु ।’

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले आफूले जनताको पक्षमा काम गर्ने बताएका छन् । पाएको जनमतको उपेक्षा नगरीकन काम गर्ने प्रतिबद्धता उनको छ ।

प्रतिक्रिया दिनुहोस्