बाल उद्धार माविको विद्यार्थी विदाई कार्यक्रम सम्पन्न (फोटोफिचर)



काठमाडौं । नेपाल सरकारद्वारा नमूना माध्यमिक विद्यालयमा छनोट भएको बूढानीलकण्ठ–१०, मिलनचोक, कपनस्थित बालउद्धार माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले परीक्षाको तयारीमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरेका छन् ।

आगामी बैशाख २६ गतेबाट सञ्चालन हुने परीक्षामा उत्कृष्ट नतिजाको कामना सहित कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि मिठाराम अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरे, प्रधानाध्यापक विनोद पण्डित, विव्यसका सदस्यहरु दिल कुमारी बिक, कमला कार्की, शम्भुशरण पौडल र शिक्षक प्रतिनिधि मुरारी ढकालले रुद्राक्षको माला लगाई मायाको चिनो स्वरुप पेन उपहार सहित विदाई गरेका हुन् ।

प्रमुख अतिथि नगरप्रमुख अधिकारीले बाल उद्धार बूढानीलकण्ठको एकमात्र नमूना विद्यालय भएको र यस विद्यालयको गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापबाट अरु सामुदायिक विद्यालयले सिक्नु पर्ने बताए ।

यसै वर्षदेखि बूढानीलकण्ठ नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमध्येबाट जिपिए ४ ल्याउने विद्यार्थीलाई नगरपालिकाले जनही १ लाख नगद सहित सम्मान गर्ने घोषणा समेत गरे । साथै आफू नगरप्रमुख भएपछि शिक्षा क्षेत्रको बजेट बढाएको जानकारी गराउँदै आगामी आर्थिक वर्षको बजेटमा २० प्रतिशत बजेट शिक्षा क्षेत्रको लागि छुट्याउने प्रतिवद्धता समेत व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले विद्यार्थीमाझ शुभकामना व्यक्त गर्दै भौतिक निर्माणको कामहरु २ महिनाभित्र सम्पन्न भई चाँडै नै सञ्चालनमा आउने जानकारी गराए ।

निर्माण कार्य समयमा सम्पन्न नहुँदा पठन–पाठनमा ल्याब, पुस्तकालय र खेल मैदानको अभावले गुणस्तरीय शिक्षामा परेको प्रभाव नयाँ शैक्षिक सत्रदेखि समाधान हुने उद्घोष गरे ।

विद्यालयका प्रधानाध्यापक विनोद पण्डितले बोर्ड परीक्षामा विद्यालयले उत्कृष्ट नतिजा ल्याइरहेको जानकारी गराउँदै आगामी दिनहरुमा समेत देशलाई आवश्यक उत्कृष्ट दक्ष जनशक्ति निर्माणमा जोड दिने बताए । परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुको उज्जवल भविष्यको कामना भवन निर्माणको काम समयमा नै सम्पन्न नभएतापनि पठन–पाठनमा कुनै कसर बाँकी नराखेको उनले बताए । 

विद्यार्थीहरुले विभिन्न प्रस्तुती गरेको कार्यक्रमको संचालन शिक्षक सन्तोष लुइँटेलले गरेका थिए भने कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिकालगायत दुई सय बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

फोटोमा विदाई कार्यक्रम :

प्रतिक्रिया दिनुहोस्