सफलतातर्फ नेकपा एमाले जगाउने मिसन ग्रासरुट अभियान–२०७९



मिसन ग्रासरुट अभियान किन शुरु गरियो ?

काठमाडौं । समकालीन राजनीतिक दलहरुमध्ये नेकपा एमाले व्यवस्थित पार्टी हो । यद्धपी नेकपा एमाले र माओवादी केन्द्रको एकता घोषणा गर्दै संयुक्त घोषणापत्र निर्माण गरेर २०७४ सालको निर्वाचन लडेपछि पार्टी एकताको नाममा एमालेको व्यवस्थित संगठन मिलाउनै नसक्ने गरी ध्वस्त बन्यो ।

पार्टीका संगठनहरुमा कब्जा गर्ने प्रवृत्तिले एमाले र माओवादीले केन्द्र, प्रदेश, जिल्ला, पालिका हुँदै वडा तहसम्म आफ्ना–आफ्ना पार्टीका सदस्य बढी देखाउने होडबाजीको कारण पार्टी सदस्यता विचार, सिद्धान्त, नीति र कार्यक्रमबारे छलफल र प्रशिक्षित नगराई थोकमा सदस्यता वितरण गरियो । सदस्यता वितरण गरिएकाहरुलाई आधार मानेर कमिटीमा धेरै व्यक्ति समेट्ने होड्बाजीले कमिटीहरु सयौँको संख्यामा बन्न थाले ।

एकता प्रक्रियाको करिब ४ वर्षे दौरानमा पार्टीमा प्रशिक्षण शुन्य प्रायः भए । पार्टी कमिटीको नेतृत्व गर्नेहरु मालिकजस्ता भए । समूहगत छलफल, विषयगत छलफल शुन्य प्रायः भए । अध्यक्ष र सचिव बसेर गर्ने निर्णयहरुहरुमा उपस्थित हुनेहरुले ताली पिट्ने परम्पराको थालनी भयो । राजनीतिक संस्कार र पद्धति नै नबुझेका पार्टीका स्थानीय र जिल्ला नेताहरुको प्रभाव प्रदेश र केन्द्रसम्म पुग्यो ।

चाकरी र चापलुसीमा रमाउने पार्टी नेतृत्वको विकास भयो । राम्रोलाई भन्दा आफ्नोलाई चेप्ने परिपाटीको विकास भयो । जसले गर्दा कम्युनिष्ट पार्टीका नेता र कार्यकर्ताहरु बीचमा गणेश प्रवृतिको विकास भयो । अराजक नेता र अराजक कार्यकर्ताको कारण सिंगो नेकपा एमाले पुनः विभाजित भयो ।

नेकपा एमालेको १५ वर्ष नेतृत्व गरेर पार्टीबाट सबैभन्दा बढी फाईदा लिएका माधवकुमार नेपाल र झलनाथ खनाल नै पार्टी फुटाएर नेकपा समाजवादीको स्थापना गर्न पुगे । जसले गर्दा नेकपा एमाले बनाउन रगत र पसिना बगाएका हजारौँ पार्टी नेता र कार्यकर्ताहरु नेकपा समाजवादीमा लागेर नेकपा एमालेलाई पराजित गर्ने संकल्प बोकेर चुनावी मैदानमा होमिए ।

एमालेलाई एकल रुपमा पूर्ण बहुमतको साथ देशको शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने उद्देश्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशव्यापी अभियान संचालन गरे तर एमालेको आन्तरिक राजनीति बुझेका एमालेका पूर्व कार्यकर्ताहरुले काँग्रेससँग साँठगाँठ गर्नाले एमालेले अपेक्षित सफलता प्राप्त गर्न सकेन । महत्वकांक्षी राजनीतिक योजना बनाएका एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा धक्का खाएपछि र पार्टी भित्रकै चर्चित नेताहरुले पराजय भोगेपछि सिंगो राजनीतिक परिस्थितिको सिंहावलोकन गर्दै नेकपा एमाले केन्द्रिय सचिवालयको २०७९ माघ २६ गतेको बैठकले दुई महिने मिसन ग्रासरुट (पार्टी सदृढीकरण तथा विस्तार अभियान) सञ्चालनमा ल्याएको छ ।

अभियानको मुख्य उद्देश्यहरु

१. पार्टी सदस्यता नवीकरण र विस्तार मार्फत् आधारभतू तहमा पार्टी सदस्यहरुको वास्तविक तथ्याङ्क, उनीहरुको अवस्था, पालिका, वडा र टोल कमिटीको क्रियाशीलता र समग्रमा आधारभतू तहमा पार्टीको अवस्थाबारे यथार्थ र वस्तुनिष्ठ जानकारी प्राप्त हुनेछ ।
२. पार्टीको आधारभूत पङ्क्ती पार्टीका आधारभूत सैद्धान्तिक राजनीतिक विषयमा प्रशिक्षित हुनेछ ।
३. स्थानीय तहमा उत्पन्न हुन सक्ने या भएका अन्तरविरोधको पहिचान र तिनको समाधानका ठोस विकल्पबारे सिफारिस प्राप्त हुनेछ ।
४. पार्टी कमिटी र जनप्रतिनिधिहरुबीचको सम्बन्धबारे वैचारिक, राजनीतिक र संरचनागत स्पष्टता हासिल हुनेछ । स्थानीय तहका जनप्रतिनिधिहरुको भमिूका थप प्रभावकारी हुनेछ ।
५. पार्टी सम्भावनायुक्त नयाँ पुस्ताको पहिचान हुनेछ ।
६. पार्टीलाई जनसरोकारका विषय लगायत समाजका विभिन्न क्षेत्रका रचनात्मक सुझावहरु हासिल हुनेछन् ।
७. नेता र कार्यकर्ताबीच एवं पार्टी र जनताबीचको सम्बन्ध थप घनिष्ट हुनेछ ।
८. अभियान पश्चात पार्टीे प्रभाव विस्तार हुनेछ । पार्टी अनुशासित र एकताबद्ध हुनेछ । पार्टीको सङ्गठनात्मक अवस्था सुदृढ हुनेछ ।

निष्कर्ष :

नेकपा एमालेको मिसन ग्रासरुटको कारण केन्द्रिय नेताहरु पालिका र वडातहसम्म पुगेर पार्टीको समस्या पहिचान गर्न सफल भएका छन् । निश्चित भूगोलभित्र काम गरिरहेका नेताहरुलाई अर्काे भूगोलमा खटाउने कामले केन्द्रियदेखि जिल्ला तहसम्मका नेताहरुले समस्याको पहिचानलाई आफ्नो मुख्य उद्देश्य बनाएका छन् ।  जसको कारण पालिका–पालिका र वडा–वडा तहसम्म  खटेका नेताहरुको एक महिनाको कामले पार्टीभित्र झाङ्गिएको विकृत रोगको पहिचान पक्कैपनि गरेका छन् । 

अबको एक महिनासम्म नेकपा एमालेका केन्द्रिय, प्रदेश, जिल्ला र पालिका तहका नेताहरुले आफैलाई सुधार गर्ने, पार्टी संगठित सदस्यहरुलाई प्रशिक्षित गर्ने, कमिटीहरुलाई पुनर्गठन गर्ने, निष्क्रिय कमिटीका सदस्यहरुलाई बिदाई गर्ने, नयाँ सदस्यता वितरण र नवीकरण गर्ने, युवा र महिलाहरुलाई पार्टीमा सहभागी गराउँदै पार्टीलाई नयाँ गतिमा अगाडि बढाउने भूमिकामा आफूलाई केन्द्रित गर्नेछन् ।  मिसनको समीक्षामा देखिएका आशावादी रिपोर्टहरुले पक्कैपनि पार्टीलाई नयाँ गति दिनेमा कुनै शंका गर्नुपर्ने देखिंदैन ।

यो पनि पढ्नुहोस्

मिसन ग्रासरुट अभियान ललितपुरको समीक्षा सम्पन्न

एमालेको मिसन ग्रासरुटलाई गिज्याउँदै बूढानीलकण्ठ १०,११ र १२ का वडाध्यक्षहरु

किर्तिपुर उठाउने नेकपा एमालेको मिसन ग्रासरुट

नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान आजदेखि सुरु

प्रतिक्रिया दिनुहोस्