मिसन ग्रासरुट अभियान ललितपुरको समीक्षा सम्पन्न



काठमाडौं । नेकपा (एमाले)ले वैचारिक तथा सांगठनिक सुदृढीकरण लागि संचालन गरेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियानको समिक्षा बैठक ललितपुर जिल्लाको महालक्ष्मी र गोदावरी नगरपालिकामा पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता, केन्द्रिय सचिव गोकर्ण विष्ट, बागमती प्रदेश ईञ्चार्ज काशीनाथ अधिकारी, बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डे, बागमती प्रदेश सह-ईञ्चार्ज तथा केन्द्रिय प्रतिनिधि धर्मदत्त देवकोटा र ललितपुर जिल्ला पार्टी अध्यक्ष पुरुषोत्तम आचार्यको विशेष आथिथ्यतामा सम्पन्न भएको छ।

नेकपा एमालेका केन्द्रिय प्रतिनितिधि धर्मदत्त देवकोटाका अनुसार गोदावरी नगरपालिकामा फागुन १० गते कामको प्रारम्भ गरी तयारी बैठक सहित फागुन २० गते पार्टी नगर कमिटीको विस्तारित बैठकबाट दैनिक कार्ययोजना पारित भएको थियो। चापागाउँस्थित हिमशिखर पार्टी प्यालेसमा फागुन १० गते सम्पन्न नगर स्तरीय प्रशिक्षणमा केन्द्रिय तथा प्रदेश कमिटीका ५ जना, जिल्ला र १४ नगर कमिटीका ९२ जना, वडापदाधिकारी ६७ जना र प्रशिक्षक सहित लगभग २०० जनाको सहभागीता रहेको थियो।

अभियानको क्रममा फागुन २४ गते किसान नगर अधिवेशन सम्पन्न भएको थियो । फागुन २६ गते नगरका जनसंगठन पदाधिकारी बीच छलफल भएको थियो । चैत्र ७ गतेसम्म १४ वटा वडामध्ये १३ वडाको विस्तारित तथा तयारी बैठक सम्पन्न भएको छ। यसअघि कतिपय कमिटीमा बैठक नै नबस्ने समस्याबारे प्रदेश कमिटीका प्रतिनिधि सहितको परामर्श र छलफलले बैठकको वातावरण सहज बन्दै गएको छ। वडा बैठकबाट टोल कमिटीको बैठक, सदस्यता नविकरण र वडा प्रशिक्षणको तयारीबारे मूर्त योजना बनाएर कार्यान्वयनमा जोड दिईएको छ ।

महालक्ष्मी महागनरपालिकाको समिक्षा बैठक
फागुन १५ बाट अभियानको सुरुवात गरी नगर पदाधिकारीको बैठक बसी कार्यक्रम र कार्यतालिका निर्माण गरिएको छ । २० फागुनमा नगर कमिटीको विस्तारित बैठकबाट निर्णयहरु पारित गरिएको छ। फागुन २३ मा गोदावरी र महालक्ष्मीमा खटिएका प्रदेश कमिटीका सदस्यहरुको संयुक्त बैठक गरी चेन अफ कमाण्ड पनि निर्माण गरिएको छ । त्यस्तै फागुन २४ गते पूर्व र वर्तमान जनप्रतिनीधिबीच छलफल गर्ने कार्यक्रम रहेको छ । चैत्र १ गते जनसंगठनका पदाधिकारीबीच बैठक सम्पन्न भएको छ।

वडा वडामा कमाण्ड निर्माण गरी मूर्त योजनका साथ माथिल्ला कमिटीका नेताहरुलाई परिचालित गरिएको छ। चैत्र ११ गते नगर स्तरीय प्रशिक्षण आयोजना गरी चैत्र १८ गते वडा-वडामा सदस्यता नविकरण र प्रशिक्षणको कार्यक्रम राखिएको छ । चैत्र २ गते अभियानको समिक्षा बैठक सम्पन्न भएको थियो । बैठकमा सहभागीबाट रिपोर्ट गरिनुका साथै कामको समिक्षा सहित सवल पक्ष, सुधारका पक्षकाबारेमा आगामी योजना बनाइएको थियो ।

जस अनुसार :
राम्रो पक्ष :
बैठक संचालन गर्ने, निर्णय गर्ने र गरिएका निर्णयहरुको कार्यान्वयनमा सुधार भएको छ। पार्टी भित्रका आन्तरिक समस्या क्रमश: सुधार हुँदै निष्क्रिय नगर सचिव लगायतका कार्यकर्ताहरु पार्टीको काममा लागेका छन् । त्यस्तै समस्या ग्रस्त वडा १० र ११ का कामहरु प्रारम्भ भएका छन् । पार्टीको विधि र पद्धतिबारेमा सचेत भएको र पालना गर्न थालिएको छ।

सुधारका पक्ष:
जिल्ला, नगर र वडा कमिटीका सदस्यहरु सक्रिय रुपमा सहभागी भई पार्टी काममा लाग्नुका साथै वडा र टोलका बैठकमा तोकिएको समयमा सम्पन्न गर्नुपर्ने छ । पार्टीको चेन अफ कमाण्डमा टिम निर्माण गरी परिचालन गर्नुपर्ने, अभियानमा खटिएका र कामको परिमाणलाई आगामी दिनमा मूल्यांकनको विषय बनाउनु पर्ने।

आगामी कार्य
सबै वडाका बैठक चैत्र ५ मा सक्ने र टोल कमिटीका बैठक चैत्र २० गते सक्ने, दल गठन र आन्तरिक समस्याबारे छलफल गरिनुका साथै वडा कमिटीको लेखा परिक्षण चैत्र ३० देखि वैशाख ५ सम्म सक्न पर्नेछ ।

केन्द्रिय प्रतिनिधि धर्मदत्तदेवकोटाका अनुसार अभियानको क्रममा दैनिक कार्यतालिका बनाई दैनिक रुपमा कामको रिपोर्टिङ्ग प्रदेश कार्यालय मार्फत केन्द्रिय कार्यालयमा पठाईएको छ। विभिन्न कारणले निष्क्रिय रहेका पार्टीका टोल, वडा र नगरस्तरीय नेता कार्यकर्तालाई सक्रिय बनाईएको छ। विषय र मुद्दामा केन्द्रित हुनुपर्ने बैठकहरु भद्दा हुने गरेकोमा विषय र समयमा केन्द्रित भई बोल्ने बानीको विकास भएको छ।

अधिकांश कमिटीहरु पार्टी संरचना अनुसार नै गठन भएको भएपनि कुनैपनि बैठकमा कोरम नपुगेको भेटिएको छ। पार्टी भित्र विभिन्न स्वार्थ समूहको विकास भई पार्टीको स्प्रिडमा धक्का लागेकोले त्यसलाई अन्त्य गर्दै अवसर र जिम्मेवारी दिँदा कामको आधारमा हुने परिपाटीको विकास गर्ने वातावरण बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्