बूढानीलकण्ठमा दुई दिने सीप सम्मेलन तथा कृषि मेला



काठमाडौँ । बूढानीलकण्ठमा दुई दिने सीप सम्मेलन तथा कृषि मेला–२०७९ सुरु भएको छ । स्थानीय उत्पादनलाई प्रदर्शन तथा प्रवर्द्धन गर्न नगरपालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा नगरप्र्रमुख मिठाराम अधिकारीले स्थानीय उत्पादन र घरेलु व्यवसायलाई बजारीकरण गर्न सीप सम्मेलन तथा कृषि मेला आयोजना गरिएको बताए । सीप सम्मेलनले आगामी दिनमा व्यवसायलाई थप उत्प्रेरणा हुने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा नगरपालिकाले निरन्तरता दिने उनको भनाइ छ ।

नगर उपप्रमुख अनिता लामाले नगरपालिकाभित्रका स्थानीय तथा घरेलु उत्पादन बजारीकरण गर्दै राष्ट्रिय अर्थतन्त्रमा जोड्न सीप सम्मेलन तथा कृषि मेला गरिएको बताइएन। बूढानीलकण्ठ नगरपालिका कृषि उत्पादन तथा घरेलु व्यवसायमार्फत स्वरोजगार विकास गर्न सम्मेलन आयोजना गरिएको उनको भनाइ छ । नीति तथा कार्यक्रमका लागि आधार तयार गर्न र आगामी आवमा कस्ता खालका सीपमूलक तालिम तथा कृषिलाई केन्द्रित गरी उपलब्धिमूलक कार्यक्रम तयार गर्न सकिन्छ भन्ने परीक्षण गर्न सीप सम्मेलन तथा कृषि मेला गरिएको उनले बताईन ।

दुई दिनसम्म सञ्चालन हुने मेलामा ७१ स्टल राखिएको छ । स्थानीयवासीले हातबाट बुनेका सामान, काठबाट बनाइएका, गाँजा र अल्लोबाट बनाइएका कपडा, जैविक खाने परिकार, विषादिरहित तरकारीलागायत सामान स्टलमा प्रदर्शनमा राखिएको छ । बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा सुरु भएको सीप सम्मेलन तथा कृषि मेला दुई दिनसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्