
विराटनगर । नेपाल विद्यार्थी संघले शुक्रबार दिउँसो विराटनगरको नर्सिङ क्याम्पसमा तालाबन्दी गरेको २४ घण्टा नबित्दै एमाले निकट अनेरास्ववियुले महेन्द्र मोरङ क्याम्पसमा तालाबन्दी गरेको छ ।
विभिन्न ५ बुँदे माग राख्दै एमाले निकट अनेरास्ववियुले महेन्द्र मोरङ क्याम्पसमा तालाबन्दी गरेको हो । अनेरास्ववियूले शनिबार क्याम्पस प्रमुखलाई ५ बुँदे माग राख्दै तालाबन्दी गरेको अनेरास्ववियु मोरङ अध्यक्ष तुलसी घिमिरेले जानकारी दिए ।
नर्सिङ क्याम्पस लगायतका क्याम्पसहरुमा नेविसंघको तालाबन्दी र महेन्द्र मोरङमा निर्वाचन समितिको लापरबाहीपूर्ण क्रियाकलापले अनिश्चितकालीन तालाबन्दी गरिएको उनको भनाई छ। हामीले राखेको पाँच बुँदे माग सम्बोधन नहुँदासम्म तलाबन्दी गरिएको हो, घिमिरेले भने, क्याम्पसमा एकपक्षीय रुपमा निर्वाचनका कार्यक्रमहरु गर्न थालिएपछि हामीले आपत्ति जनाएका हौँ ।’
अनेरास्ववियुले क्याम्पस प्रमुख बाबुराम तिमल्सिनालाई मागपत्र प्रस्तुत गर्दै मतदाता नामावलीको नाम छानबिन गर्नुपर्ने, क्याम्पस प्रशासनले विद्यार्थीहरुलाई अनेरास्ववियूमा नलाग्न धाकधम्की दिएकाले त्यसको छानबिन हुनुपर्ने, न्यूनतम शूल्कमा फर्जी विद्यार्थीहरुलाई भर्ना गराइ क्याम्पस प्रशासन स्वयम् नेविसंघको पक्षमा उभिएकाले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, आम सहमतिको आधारमा निर्वाचनको वातावरण बनाउनुपर्ने माग राखेको छ ।
शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनुपर्ने माग राखिएको घिमिरेले बताए । स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन चैत ५ गते भोलीलाई तोकिएको छ। निर्वाचनको मुखमा भएको तालाबन्दीले स्वबियु निर्वाचन हुन नदिनको लागि विद्यार्थीहरुले चललखेल गरेको आरोप विद्यार्थीहरुले लगाएका छन् । नर्सिंङ क्याम्पसमा नेविसंघले तालाबन्दी गरेपछि त्यसको आक्रोशमा अनेरास्ववियुले महेन्द्र मोरङ क्याम्पसमा तालाबन्दी गरेको विद्यार्थीहरुको भनाई छ।
नर्सिङ क्याम्पसमा नेबिसंघले लगाएको ताला भनेँ प्रहरीले फुटाईदिएको छ ।