राममायालाई १५ सय मिटर दौडमा स्वर्ण



काठमाडौं । नेपाल प्रहरी क्लबकी राममाया बुढाले गोल्डेन एथलेटिक्स मिटको महिला १ हजार ५ सय मिटर दौडमा आइतबार स्वर्ण जितेकी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राममायाले निर्धारित दूरी ५ मिनेट ००.६ सेकेन्डमा पूरा गरिन् । नेपाल एपीएफ क्लबका पूलमति राना दोश्रो तथा आशा रावत तेश्रो भए । सो स्पर्धाको पुरुषमा प्रहरीका नागेश्वर ऐरले ४ मिनेट ०८.९ सेकेन्डमा दौड टुंग्याउदै शीर्ष स्थान हात पारे । एपीएफका सन्जिव नेपाली दोश्रो तथा विकेश घिमिरे तेश्रो स्थानमा रहे ।

एथलेटिक्स परिवार नेपालले आयोजना गरेको प्रतियोगिताको महिला १० हजार मिटर दौडमा प्रहरीकी रेखा विष्टले ३९ मिनेट ३८।७ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । दोलखाकी अन्जु खड्काले रजत तथा प्रहरीकी सुमिगा चौधरीले कांस्य हात पारे । पुरुष ४ गुणा १ सय मिटर रिलेमा एपीएफ पहिलो, लुम्बिनी दोश्रो र प्रहरी तेश्रो बने । सो स्पर्धाको महिलामा एपीएफ प्रथम, हिमालयन एन्जल्स द्वितीय र प्रहरी तृतीय स्थानमा रहे ।

पुरुष १ सय मिटर दौडमा कर्णालीका युवराज विकले स्वर्ण, एपीएफका शिवराज पार्कीले रजत र एपीएफकै निरप्रताप महतोले कांस्य जिते । महिला ४ सय मिटर दौडमा ५९।७० सेकेन्ड समयसाथ एपीएफकी रमिताकुमारी थारु शीर्ष स्थानमा रहिन् । एपीएफकै कल्पना श्रेष्ठ दोश्रो तथा दाङकी अरुजा रिजाल तेश्रो भए ।

महिला हाइजम्पमा लम्जुङकी सिमा श्रेष्ठ १ मिटर ३६ सेन्टीमिटर उचाइ नाघ्दै पहिलो भइन् । प्रहरीका लक्ष्मी साउद दोश्रो तथा विर्सना फुयाँल तेश्रो भए । महिला लङजम्पमा दाङकी निशा चौधरी, प्रहरीकी सिमा चौधरी दोश्रो तथा एपीएफकी रन्जिता राई क्रमशः शीर्ष तीन स्थानमा रहे । पुरुष हाइजम्पमा कपिलवस्तुका प्रभु थापा पहिलो भए । उनले १ मिटर ६२ सेन्टीमिटर उचाइ नाघे । प्रहरीका चन्द्रदेव जोशी दोश्रो तथा कैलालीका नरबहादुर साउद तेश्रो भए ।

महिला १ सय मिटर दौमा दाङकी निशा चौधरी पहिलो भइन् । निशाले निर्धारित दूरी तय गर्न १२।५३ सेकेन्ड समय खर्चिन् । प्रहरीकी लक्ष्मी साउद र ललितपुरकी रजिना दुलाल तेश्रो बने । पुरुष ४ सय मिटर दौडमा प्रहरीका तेजबहादुर कार्कीले स्वर्ण जिते । उनले ५१।४५ सेकेन्डमा दौड सकाए । लुम्बिनीका तुलसीराम थारु दोश्रो तथा एपीएफका आशिष चौधरी तेश्रो भए ।

पुरुष लङजम्पमा एपीएफका सलिम देवानले स्वर्ण चुमे । उनले ७ मिटर ०९ सेन्टीमिटर दूरी तय गरे । लुम्बिनीका सुदिप थारु दोश्रो तथा प्रहरीका मिथुन चौधरी तेश्रो भए । पुरुष १० हजार मिटर दौडमा पर्वतका तीर्थ पुनले बाजी मारे । तीर्थले ३० मिनेट ४७।१ सेकेन्ड समय निकाल्दै स्वर्ण जितेका हुन् । एपीएफका राजेन्द्र तामाङ दोश्रो तथा सन्तोषविक्रम विष्ट तेश्रो भए ।

प्रतिक्रिया दिनुहोस्