दलबीच राष्ट्रिय सहमति हुनुपर्छ : देवेन्द्र पौडेल



काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मुलुकका अगाडि देखिएका समस्या समाधान गर्न राष्ट्रिय सहमतिको खाँचो रहेको बताए । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकको अर्थतन्त्रलाई सही बाटोमा ल्याउन राष्ट्रिय सहमति जरुरी रहेको औँल्याएका हुन् ।

“शान्ति प्रक्रियाका कतिपय काम सम्पन्न गर्नुपर्नेछ । यी काम सम्पन्न गर्न सबै दलबीच राष्ट्रिय सहमति हुनुपर्छ । जनताले निर्वाचनमार्फत मिलेर जान मत दिएका छन् । एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ”, नेता पौडेल भने ।

सबै राजनीतिक दलको सहमतिबाट मुलुकलाई आजको अवस्थामा ल्याइएको जनाउँदै उहाँले समृद्ध नेपालको जनआकाङ्क्षा पूरा गर्न दलहरुबीच एकता आवश्यक रहेको बताए । “शान्ति सम्झौता, गणतन्त्र, धर्म निरपेक्षतालगायत सबै राजनीतिक उपलब्धि सहमतिमा ग¥यौँ । देशका अगाडि आएका समस्या समाधान गर्न फेरि पनि राष्ट्रिय सहमतिको खाँचो छ”, नेता पौडेलले भने ।

देशको आर्थिक प्रणाली पूरै बिग्रिएको नभई अर्थतन्त्रको केही सूचक उल्टो बाटोमा रहेको जनाउँदै उनले विद्यमान समस्यमा समाधानका लागि पनि सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । “अझै पनि ५५ लाख नेपाली वैदेशिक रोजगारीमा छन् । स्वदेशमा रोजगारी सिर्जना चुनौतीका रुपमा छ”, नेता पौडेलले भने ।

गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्वलगायत राजनीतिक उपलब्धि संस्थागत गर्न जनताले गरेको बलिदानीलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले सोही उपलब्धिका आधारमा आजका दिन जनताले प्रेस स्वतन्त्रता, विधिको शासन, बालिग मताधिकारलगायत अधिकारको प्रयोग गर्न पाएको बताए ।

“आजको आवश्यकता प्राप्त उपलब्धिको रक्षा र जगेर्ना गर्नु हो”, नेता पौडेलले भने, “केही कमीकमजोरी छन् भने विधिपूर्वक समाधान खोज्नुपर्छ । अहिलेको प्रणालीमाथि प्रश्न उठाउने कामले जनताको भावनामा ठूलो असर गर्छ ।”

प्रतिक्रिया दिनुहोस्