
काठमाडौँ । पवित्र धार्मिक स्थल पशुपति क्षेत्रबाट पशुपति आरतीको प्रत्यक्ष प्रसारण दैनिक रुपमा टेलिभिजनबाट गरिने भएको छ ।
टेलिभिजनकै इतिहासमा पहिलो पटक पाशुपत क्षेत्रमा प्रत्येक साँझ हुने पशुपति आरतीको प्रत्यक्ष प्रसारण नेपाल नेटवर्क टेलिभिजन(एनएनटिभी) बाट हुने भएको छ । आरतीको प्रत्यक्ष प्रसारणले देश तथा बिदेशमा रहेका हिन्दु धर्ममा आस्था राख्नेहरु धेरैको मन जित्नेमा नेपाल नेपाल नेटवर्क टेलिभिजन टिम बिश्वस्त रहेको छ ।
आगामी आगामी महाशिवरात्रि फागुन ६ गते साँझ ६ बजे देखि प्रत्यक्ष प्रसारण शुभारम्भ हुनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,पशुपति विकास कोष, पशुपति आरती समिती र नेपाल नेटवर्क टेलिभिजनको संयुक्त प्रयासमा आरतीको प्रत्यक्ष प्रसारण हुने भएको हो ।
पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको सबै भन्दा ठुलो तिर्थ स्थल मानिन्छ। पशुपति क्षेत्रमा साँझको आरति प्रत्यक्ष पशुपतिमा पुगेर हेर्ने संख्या पनि बाक्लै रहने गरेको छ । आरतीको प्रत्यक्ष प्रसारणको प्रोमो नेपाल नेटवर्क टेलिभिजनबाट सार्वजनिक गरिएको छ ।





