देबसिश र मार्तालाई स्वर्ण



काठमाडौं । भारतका देबसिश साहु र मंगोलियाकी मार्ता चोक्सोम्जाभले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को सिंगल्समा शनिबार स्वर्ण जितेका छन् । सिंगल्सको ब्वाइजमा देबसिश र गल्र्समा मार्ता पहिलो भएका हुन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा देबसिशले भियतनामका फाम ला होङलाई ४–६, ६–१ र ६–३ को सेटमा पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा मार्ताले आफ्नै बहिनी मराल्गुलाई ६–१ र ६–१ को सोझो सेटमा हराइन् ।

गल्र्स डबल्समा भने दिदीबहिनी मार्ता र मराल्गुको जोडी च्याम्पियन बनेको थियो । ब्वाइज डबल्समा नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी पहिलो भएको थियो ।

विजेतालाई आयोजक नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्ट र आईटीएफ सुपरभाइजर प्रवीणकुमार नायकले एक कार्यक्रमबीच पुरस्कृत गरे । छदिने प्रतियोगितामा समान ३२–३२ ब्वाइज/गल्र्स गरी ६४ खेलाडीले सिंगल्स र डबल्समा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताअन्तर्गत सर्किट– २ सोमबारदेखि सुरु हुने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । त्यसका लागि छनोट प्रतियोगिता शनिबारै सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ । ब्वाइज/गल्र्समा समान ३२–३२ खेलाडी छनोट हुने छन् ।

प्रतिक्रिया दिनुहोस्