नेपाल प्रहरीलाई स्वर्ण



काठमाडौं । नेपाल प्रहरी क्लबले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार स्वर्ण जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा प्रहरीले कान्तिपुर भ्याली पिङपोङ क्लबलाई ३–० ले पराजित ग¥यो ।

डबल्समा प्रहरीका मन्जु सुवाल र एलिना महर्जनको जोडीले स्वेच्छा नेम्वाङ र रविना महर्जनको जोडीलाई ११–९, ११–६ र ११–९ को सोझो सेटमा पराजित गरे । सिंगल्समा प्रहरीकी नविता श्रेष्ठले दिया देउलालाई सीधा सेटमा ११–४, ११–५ र ११–८ ले हराइन् । अर्को सिंगल्समा एलिनाले रविनालाई ११–४, ३–११, ५–११, ११–४ र ११–७ ले पाखा लगाइन् ।

ललितपुर जिल्ला टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको भेट्रान महिला ४० वर्षमाथि सिंगल्समा ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबकी इन्दिरा पौडेल पराजुली पहिलो भइन् । इन्दिराले फाइनलमा आफ्नै क्लबकी सम्झना पोखरेललाई ११–६, ११–५ र ११–४ को सोझो सेटमा पन्छाइन् । लगनखलकी हीरादेवी नकर्मी र ज्ञानभैरवकी सविता बस्नेत केसी तेश्रो भए ।

सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा.लि को मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा विभिन्न ७ स्पर्धामा २ सय पुरुष र ५६ महिला गरी २ सय ५६ खेलाडी सहभागी छन् । पुरुषमा भारतबाट ९, बेलायतबाट २ तथा फ्रान्स र पोर्चुगलबाट समान १–१ खेलाडी सहभागी छन् । महिलामा विदेशी खेलाडी सहभागी छैनन् ।

सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाउने छन् । भेट्रान पुरुष सिंगल्स ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिला सिंगल्स ४० वर्षमाथिमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार हात पार्ने छन् ।

प्रतिक्रिया दिनुहोस्