अर्को बैंकको एटीएम प्रयोग गर्दा १५ रूपैयाँ शुल्क लाग्ने, क्युआर भुक्तानीको सीमा बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर बैक एटीएम सेवामा लाग्ने घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क अब अधिकतम् १५ रूपैयाँ लाग्ने व्यवस्था गरेको छ । क्युआर स्क्यानसहित मोबाइल बैंकिङका माध्यमबाट हुने डिजिटल कारोबारमा रहेको रकमको दैनिक सीमा पनि बढाइएको छ ।

हालसम्म एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा बैंकहरुले यस्तो कारोबारको शुल्क २० रुपैयाँसम्म लिँदै आएका थिए ।

राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै सो व्यवस्था गरेको हो । यससँगै, अबदेखि बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा प्रतिकारोबार बढीमा १५ रुपैयाँ सम्म शुल्क लाग्नेछ ।

यसअघिसम्म मासिक २ वटा अन्तरबैंक एटीएम कारोबार निःशुल्क हुने व्यवस्था थियो । संशोधनपछि मासिक २ वटासम्म कारोबार निःशुल्क पाउने व्यवस्था भने हटाइएको छ ।

यसैगरी, राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमामा पनि संशोधन गरेको छ । यसअघि बैंक खाताबाट वालेटमा प्रतिदिन ५० हजार रुपैयाँसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन २ लाख लाख रुपैयाँसम्म रकम पठाउन सकिने व्यवस्था ल्याइएको छ ।

त्यस्तै, वालेटबाट अन्य बैंकको खातामा पनि प्रतिदिन २ लाख रुपैयाँसम्म पठाउन सकिनेछ । यसअघि प्रतिदिन ५० हजार रुपैयाँमात्रै पठाउन सकिने व्यवस्था थियो ।

एक वालेटबाट अर्को वालेटमा पैसा पठाउँदा यसअघि एकदिनमा २५ हजार रुपैयाँसम्म मात्रै पठाउन सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन ५० हजार रुपैयाँसम्म पठाउने सकिने व्यवस्था ल्याइएको छ । यद्यपि प्रतिमहिना गर्न सकिने कारोबारको सीमा भने यथावत राखिएको छ ।

मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा पनि बढाइएको छ । मोबाइल बैंकिङ (क्युआर कोड समेत) बाट यसअघि प्रतिदिन २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्