राष्ट्रपतिमा साझा व्यक्तित्वको खोजी गरौं : राजकिशोर यादव



काठमाडौं । जनता समाजवादी पार्टीका प्रभावशाली नेता, पूर्वमन्त्री एवम् सांसद राजकिशोर यादवले राष्ट्रपतिमा साझा व्यक्तिलाई अघि सार्नुपर्ने भन्दै दलविशेषको व्यक्तिलाईअघि सार्न नहुनेमा जोड दिएका छन् । विगतमा दलीय आधारमा राष्ट्रपति नियुक्त गर्दा कार्यकारीले गरेका निर्णय रोक्ने र उल्टाउने काम भएको भन्दै अब त्यस्तो गल्ती दोहोर्याउन नहुने उनको भनाई छ ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले राष्ट्रपतिको निर्वाचनको विषयले हाम्रो राजनीति तातिएको छ । सबैको यसमा चासो बढेको छ। राष्ट्रपतिको बारेमा हामीले संविधान लेखिरहँदाखेरि यो अलांकारिक, राष्ट्रको साझा व्यक्तिको रुपमा खासगरी अभिभावकको रुपमा आफ्नो भूमिका निर्वाह गर्ने परिकल्पना गरेर नै संविधान लेखिएको हो । विगतमा दुई वटा राष्ट्रपतिका कार्यकालको रुपमा अनुभव बटुलेका छौं । अहिले राष्ट्रपतिको बारेमा पार्टीहरुका बीचमा ध्रुवीकरण भएको छ, यो चर्चाको विषय बनेको छ। विगतमा राष्ट्रपतिहरुद्धारा आफ्नोअनुकुल संविधानलाई व्याख्या गरेर, आलांकारिकभन्दापनि कुनै कुनै ठाउँमा कार्यकारीजस्तो भूमिका खेलेको देखियो । राष्ट्रपतिबारे दलीय धु्रवीकरण भएको छ, यसमा दुईवटा कारण छ । पहिलो भनेको आफ्नो अनुकुलको राष्ट्रपति भयो भने, त्यहीअनुकुल गराउने दृष्टिकोण छ । अर्को चाहीँ, राष्ट्रपति आफूभन्दा फरक विचारको भयो भने भोलि समस्या पार्ला कि भन्ने चिन्ता र चासो छ । अहिले अलिक बढि नै चर्चा या ध्रुवीकरण भएको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै यादवले आफूहरु राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति निर्वाचित गर्ने पक्षमा रहेको सुनाए । उनले थपे–‘हामीले संविधानले परिकल्पना गरेजस्तो राष्ट्रपतिमा राष्टिय सहमतिको आधारमा, र त्यो साझा व्यक्तित्वलाई निर्वाचित गर्न सक्यौं भने त्यो पदको गरिमा पनि बढ्छ । संविधानको संरक्षकको रुपमा राष्ट्रपतिलाई परिकल्पना गरेका छौं । साझा व्यक्ति ल्याउन सकियो भने त्यो न्याय हुन्छ । दलीय भागबण्डा भन्दा माथि उठेर संविधानलाई कार्यान्वयन गर्ने व्यक्ति ल्याउनुपर्छ । अहिले हाम्रो जुन कलिलो शिशु अवस्थामा रहेको व्यवस्थालाई परिस्कृत बनाउनको लागि पनि त्यतातिर सोच्नुपर्छ । लोकतान्त्रिक व्यवस्था आज दलतन्त्रमा फसेको छ । अहिले चिन्ता बढेको छ । व्यवस्थालाई समृद्ध र परिस्कृत बनाउन चाहेको हो भने राष्ट्रपतिमा साझा व्यक्तित्वको खोजी गरौं ।’

यादवले राष्ट्रिय जीवनमा आफ्नो ठूलो लगानी गरेको र देशको अभिभावकको रुपमा सबैले स्विकार गर्नसक्ने र सबै दलले स्वामित्व ग्रहण गर्नसक्ने व्यक्तित्वलाई राष्ट्रपति बनाउनुपर्ने धारणा राखे । ‘अब फलानो या ढिस्कानो दलको भागमा पार्नुहुँदैन् । राष्ट्रपति भनेको कुनै दलविशेषको कार्यकर्तालाई त्यहाँ पठाउनुभन्दा साझा व्यक्तित्व खेज्नुपर्छ ।’–उनले भने ।

राष्ट्रपतिको चुनाव नजिकिएसँगै दलहरुको सक्रियता बढेको उनको चर्चा छ । उनले भने,‘राष्ट्रपतिको निर्वाचन आईरहेको छ, यति सारो यसको निर्वाचनबारे मोह भएको छ । यसको पछाडि कारण छन् । राष्ट्रपतिको भूमिकालाई लिएर अब सदनभित्र बहस हुनुपर्छ । विगतमा कहाँ–कहाँ संविधान र कानून कुल्चिने काम भयो ? राष्ट्रपतिबाट दलीय मोहमा फसेर कार्यकारीले गरेको निर्णय उल्टाउने र रोक्ने काम भएको छ । यसले संविधानको भावनाअनुकुलको काम भएको छैन् । भविष्यमा यस्ता काम नहोस भन्नको लागि, लुप प्वाईन्ट रोकौं । संविधानको अक्षरंश पालना गरौं ।’

यादवले रवि लामिछानेको नागरिकतासम्बन्धी विवादबारे सर्वोच्च अदालतबाट जारी पछिल्लो फैसलालाई सम्मान गर्नुपर्नेमा जोड दिए । उनले फैसलाको बारेमा टिकाटिप्पणी गर्नु मुनासिफ नभएको तर्क गरे । यादवले रवि लामिछानेले छोटो समयमा दल निर्माण गरेर निर्वाचनमा प्राप्त गरेको सफलता चर्चा गर्नयोग्य रहेको भन्दै प्रशंसा गरे ।
उनले भने,‘उहाँले छोटो समयमा दल दर्ता गरेर निर्वाचनमा जुन सफलता हाँसिल गर्नुभयो । नेपाली राजनीतिमा यसमा अध्ययन र खोजबीन भयो भने यो नौलो घट्नाको रुपमा हुनेछ । उहाँले चमत्कार नै गरेको मान्न सकिन्छ । अहिले जुन घट्ना घटित भएको छ, अदालतको फैसला आईसकेको छ । फैसलाको टिकाटिप्पणी गर्नु त्यति मुनासिफ हुँदैन् । रविजीले अगाडि कसरी बढ्नु्हुन्छ, उहाँको पार्टी र सभापति भएको नाताले राजनीति के गर्दा राम्रो हुन्छ, त्यो त उहाँको स्वविवेकमा भरपर्छ ।’

विधि र थितिको अनि कानूनी राज्यमा बस्ने भएकोले सबैले कानूनी राज्यको पालना गर्नुपर्नेमा उनको जोड छ । उनले अब कसरी अघि बढ्ने भन्ने विषयमा सत्ता गठबन्धनमा सम्वाद होला भन्ने टिप्पणी गरेका छन् । उनले भने,‘अहिलेको सरकारमा रविजीको पनि दल छ, उहाँले समर्थन गर्नुभएको छ, सत्ता घटकमा सम्वाद होला । सत्ता गठबन्धन कसरी अघि बढ्ने भन्नेबारेमा उपयुक्त निर्णयमा पुग्ला । भोलिको दिनमा कसरी अघि बढ्ला, त्यो त थाहा भैहाल्छ नि ।’

रवि लामिछानेको सवालमा उनले लिएको अडान र देखेको सपना कसरी पुरा गर्न सकिन्छ भन्नेबारे उनले नै सोच्नुपर्ने यादवको भनाई छ । उनले भने,‘उहाँको देश र जनताको हितमा चाल्ने कदमप्रति हाम्रो सहयोग रहनेछ । काम हेरेर हाम्रो समर्थन वा विरोध हुन्छ । बहुदलीय व्यवस्थामा सहकार्य र विरोध कामको आधारमा गर्नुपर्छ । हामीपनि कामको आधारमा विरोध वा समर्थन गर्छौं ।’

उनले अहिले युवाहरु संसद्मा आएको उल्लेख गर्दै संसद्मा अहिलेको कम्पोजिसनले आशा जगाएको पनि सुनाए। ‘अब संसद् दुई/चार जना नेताको निर्णयको बन्धकी हुँदैन् । त्यहाँ हेल्थी छलफल हुन्छ । प्रक्रियाको नाममा, जसरी राज्य सञ्चालन भैरहेको छ, उनीहरु जनताप्रति संवेदनशील भएनन् । यसप्रति मिडियाले घच्घचाउनुपर्छ । सरकारलाई जनउत्तरदायी बनाउनेबारे हाम्रो भूमिका हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्