सम्झना कप टेबलटेनिसलाई सह–प्रायोजन



काठमाडौं । ललितपुर जिल्ला टेबलटेनिस क्लबको आयोजनामा हुने पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितालाई मेटल सापर/मेटल उड तथा डिएचएस र लिनिङले सह–प्रायोजन गर्ने भएका छन् । सो सम्बन्धी सम्झतौ पत्रमा आइतबार आयोजक र सह–प्रायोजकबीच हस्ताक्षर भएको छ । आयोजक क्लबका अध्यक्ष उर्दिप जोशी, मेटलका प्रमुख कार्यकारी अधिकृत निरोज जोशी र लिनिङका महाप्रबन्धक राजेन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रतियोगिताका लागि मेटलले अनुमानित २२ लाख ५५ हजार बजेट मध्ये २५ प्रतिशत रकम आयोजकलाई उपलब्ध गराउने छ । मुख्य प्रायोजन वापत कुल बजेटको ५० प्रतिशत उपलब्ध गराउने गरी सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा।लि। र आयोजकबीच सम्झौता भइसकेको छ ।

डिएचएसले प्रतियोगितालाई आवश्यक पर्ने खेल सामाग्री दिने भएको छ भने लिनिङले पदक विजेता खेलाडीलाई गिफ्ट ह्याम्पर र आयोजक कमिटीलाई पोशाक उपलब्ध गराउने छ ।

विभिन्न ७ स्पर्धा समावेश प्रतियोगिता मंगलबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुँदैछ । प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख रुपैयाँ रहेको छ । पुरुष/महिला सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाउने छन् । भेट्रान पुरुष सिंगल्स ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिला सिंगल्स ४० वर्षमाथिमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार हात पार्ने छन् ।

प्रतियोगितामा २ सय पुरुष र ५६ महिला गरी २ सय ५६ खेलाडी सहभागी हुने छन् । विदेशीतर्फ भारतबाट ९, बेलायतबाट २ तथा फ्रान्स र पोर्चुगलबाट समान १–१ खेलाडीको सहभागिता निश्चित भइसकेको आयोजकले जनाएको छ । महिलामा विदेशी खेलाडी सहभागी छैनन् ।

प्रतिक्रिया दिनुहोस्