रिटर्नी युवा संजालको युवा मार्गदर्शन तथा बनभोज कार्यक्रम सम्पन्न



काठमाडौं । राष्ट्रिय युवा परिषद्द्वारा गठित वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको सञ्जाल (रिटर्नी युवा संजाल)ले भक्तपुर, धुन्चेपाखास्थित कुमारी पार्कमा युवा मार्गदर्शन तथा बनेभोज कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सहभागीहरुलाई युवा मार्गदर्शनबारे बोध गराउनुका साथै बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको सीप, क्षमतालाई राष्ट्रको हितमा लगाउनुपर्ने बताए ।

प्रमुख अतिथि बस्नेतले भने, ‘हाम्रो देशमा हरेक वर्ष श्रम बजारमा ४ लाख ५० हजार युवाहरु भित्रिन्छन भने ५ लाख भन्दा बढी युवाहरु रोजगारीका लागि विभिन्न देशमा बाहिरिने गरेका छन् । हाम्रै छिमेकी देश श्रीलंका टाट पल्टिसकेको अवस्थामा पनि हाम्रो देशमा अझै त्यस्तो अवस्था नआउनुमा बैदेशिक राजगारीमा गएका युवा जनशक्ति नै प्रमुख कारक हुन् । त्यसैले बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको हकहित र मागलाई एककीकृत गर्दै बैदेशिक रोजगार बोर्ड, युवा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा कार्यविधि बनाई फेरी पनि रोजगारीका लागि विदेशिने अवस्थाको अन्त्य गर्नुपर्छ ।’

त्यस्तै कार्यक्रमका विशेष अतिथि राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशासकीय अधिकृत रमाकान्त शर्माले आफ्ना जीवनका तितामिठा अनुभवहरु बाँडेका थिए । जसले सहभागीहरुमा जीवनप्रतिको संघर्षमा थप उत्प्रेरणा मिलेको थियो ।

कार्यक्रमको अध्यक्षता रिटर्नी युवा संजालका अध्यक्ष सुवास ढकालले गरेका थिए भने स्वागत मन्तव्य संजालकै उपाध्यक्ष निमेश कुमार ओली, अतिथिहरुलाई स्वागत तथा खादा कोषाध्यक्ष अजिता ठकुरी र कार्यक्रमको संचालन बरिष्ठ उपाध्यक्ष सविन खड्लेकाले गरेका थिए ।

विहान ७ बजेदेखि साँझ ५ बजेसम्म आयोजित कार्यक्रममा सहभागीहरुलाई विभिन्न खेल तथा नाँचगान र मिष्ठान भोजनले भरपूर मनोरञ्जन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्