बाल उद्धार माविले शुरु गर्‍यो बालउद्धार ई–बुलेटिन (बुलेटिनसहित)



काठमाडौं । नेपाल सरकारकाद्वारा नमूना विद्यालयमा छनोट गरिएको बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित बाल उद्धार माध्यमिक विद्यालयले बसन्त पन्चमीको अवसर पारेर बाल उद्धार ई–बुलेटिन सार्वजनिक गरेको छ ।

प्रविधिमैत्री रुपमा बूढानीलकण्ठ नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा अब्बल मानिएको बाल उद्धार माविले ई–बुलेटिन सार्वजनिक गरेसँगै विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी लगायत शुभचिन्तकहरुमा सूचना र प्रविधिसँगको पहुँचलाई थप टेवा पुर्याउने देखिन्छ ।

ई–बुलेटिन प्रकाशनका लागि बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी, बूनपा १० का वडाध्यक्ष एवम् नगरप्रवक्ता नवराज भट्टराई र नगर शिक्षा प्रमुख ललितविक्रम सिंहले ई–बुलेटिनबाट विद्यार्थी र शिक्षकको शिक्षण सिकाईमा सुधार र अन्वेषण हुन गई विद्यालयको समग्र विकासमा योगदान पुग्ने आशा सहित ई–बुलेटिनको प्रकाशन, स्तरियता र निरन्तरताको कामना सहित शुभकामना व्यक्त गरेका छन् ।

विद्यालयद्वारा सार्वजनिक ई–बुलेटिन :

विद्यालयका प्रधानाध्यापक विनोद पण्डितले, शैक्षिक सुधारका लागि विभिन्न नविनतम सीपहरु प्रयोगमा ल्याउँदै शिक्षालाई जीवनसँग जोड्नका लागि विद्यालयले खेलेको अहम् भूमिकाबारे प्रकाश पार्दै श्रीपञ्चमीको अवसरमा विद्यालयले शिक्षक, विद्यार्थी र कर्मचारीहरुको लेखरचनलाई समावेश गरी ई–बुलेटिन विमोचन गरेकोमा खुशी व्यक्त गरे । त्यस्तै पहिलो पटक नेपाली संस्करणमा प्रकाशन गरिएको ई–बुलेटिन आगामी महिनादेखि अंग्रेजी र नेपाली भाषामा पालैपालो गरी मासिक रुपमा प्रकाशन हुने जानकारी समेत गराए ।

प्ले ग्रुपदेखि कक्षा १२ सम्मका विद्यार्थीहरु, शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु र शिक्षा क्षेत्रका सरोकारवालाहरुको लेख, रचनासहित  विद्यालयका आन्तरिक तथा बाह्य गतिविधिहरु समेत ई–बुलेटिनमा समावेश गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले बताए ।

बाल उद्धार माविको वेबसाईट मार्फत पहिलोपटक प्रकाशन थालनी गरिएको ई–बुलेटिनले विद्यार्थी तथा शिक्षकहरुमा लेखनशैली, सीपको विकास र क्षमता बृद्धिमा टेवा पुग्ने अध्यक्ष घिमिरेले विश्वास लिएका छन् । निकै छोटो समयको तयारी र तयारीकै क्रममा परेको जाडो बिदाको कारण विद्यार्थी तथा शिक्षकहरुबाट प्राप्त हुने लेख रचनाहरु थोरै भएता पनि आगामी महिनादेखि प्रत्येक महिनाको १ गते विद्यालयको वेवसाईटसामाजिक संजाल मार्फत ई–बुलेटिन सार्वजनिक हुने जानकारी गराए ।

नर्सरीदेखि कक्षा १२ सम्म करीव १६०० विद्यार्थीहरु अध्ययनरत रहेको बाल उद्धार माध्यमिक विद्यालयमा कक्षा ११/१२ मा ६ वटा संकायहरु (कम्प्युटर इन्जिनियरिङ्ग, विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र कानून) संचालित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्