रोजिशलाई स्वर्ण



काठमाडौं । ड्रागन उसु क्वानका रोजस बलले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको पुरुष छुची छाङ छ्वानमा मंगलबार स्वर्ण जितेका छन् । निन्जा उसु क्वानका दर्शन लिम्बू दोश्रो र काठमाडौं उसु क्वानका लबिज मगर तेश्रो भए । सो स्पर्धाको महिलामा ड्रागनकी लाक्पा डोल्मा लामा पहिलो, काठमाडौंकी मारिया राई दोश्रो र काठमाडौंकी आरोही लामा तेश्रो भए ।

कालभैरब उसु क्वानद्वारा आयोजित प्रतियोगिताको पुरुष छुची नान छ्वानमा बुद्ध प्रकाश उसु क्वानका समिर बस्नेतले स्वर्ण, ड्रागनका पासाङ तामाङले रजत र निन्जाका रेमन ठाडा मगरले कांस्य जिते । उक्त स्पर्धाको महिलामा ड्रागनकी पूजा तामाङ पहिलो, ड्रागनकै रश्मी तामाङ दोश्रो र बुद्ध प्रकाशकी बबिता मगर तेश्रो बने ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष थाइची छ्वानमा निन्जाका लब्सन आले मगर पहिलो, बुद्ध प्रकाशका युनिप घिमिरे दोश्रो र बुद्ध प्रकाशकै प्रिन्स लामा तेश्रो भए । सोही स्पर्धाको महिलामा काठमाडौंकी ऐश्वर्य भट्ट, पशुपति कैलाश उसु क्वानका निशुम केरुङ र बुद्ध प्रकाशका फुर्वी थिङ क्रमशः शीर्ष तीन स्थानमा रहे ।

प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । सान्सौंमा १८ र थाउलुमा १७ गरी कुल ३५ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको आयोजक क्वानका अध्यक्ष निकेश श्रेष्ठले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्