प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियालाई टुँगोमा पुर्याउनुहुन्छ : हरिबोल गजुरेल



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव, प्रधानमन्त्री पुष्पकमल दाहालका नवनियुक्त प्रमुख राजनीतिक सल्लाहकार तथा पूर्वमन्त्री हरिबोल गजुरेलले प्रधानमन्त्री दाहालले यो कार्यकालमा शान्ति प्रक्रियालाई पूर्णता दिने र संविधानको पूर्ण कार्यान्वयन गराउने विश्वास दिलाएका छन् ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालको सम्मान तथा बधाई ग्रहण गर्दै गजुरेलले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले यसपटक केही गर्नुपर्छ भन्ने भावना बोकेर हिँडेको उनको भनाई छ । उनले आफूले धेरै चूनौति र जोखिम मोलेर नै अहिलेको जिम्मेवारी लिएको सुनाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले मैले लिएको जिम्मेवारी यो धेरै जोखिमपूर्ण छ । जोखिमलाई चिर्न सकिन्छ भन्ने लागेर नै त्यो आँट र हिम्मत लिएर म आएको छु । अहिले हाम्रो अध्यक्ष तथा प्रधानमन्त्रीजीले केही गर्नुपर्छ भन्ने भावना बोकेर हिँड्नुभएको छ । आज बिहान सचिवालय मिटिङ थियो, अलिकति नयाँ तरिकाले जानुपर्छ भन्नेमा उहाँमा गहिरो सोच र चिन्तन छ । मैले त्यो पाएँ । त्यो कुरा सुनेर खुशी पनि लाग्यो । तर, यो धेरै चूनौतिपूर्ण छ । सरकार जुन परिवेशमा बनेको छ, यसले अप्ठ्यारो परिवेश खडा गरेको छ ।’

गजुरेलले अब यो देशलाई अलिकति बाटो देखाउनेतर्फ डोर्याउने पनि बताए । उनले भने,‘संविधानसभाबाट संविधान बन्यो, यो अझैपनि कार्यान्वनयको प्रक्रियामै छ । शान्ति प्रक्रिया टुँग्गिएको छैन् । यसलाई निश्कर्षमा पुर्याउनुपर्छ । संघीयताको सन्दर्भमा धेरै बहस भएका छन् । यी दुई कार्यभार टुँगो लगाउन उहाँले जिम्मेवारी लिनुभएको छ । सबैको सहयोग र सद्भाव आवश्यक छ । नेपालको मिडिया जगतको भूमिका असाध्यै महत्वपूर्ण छ ।’

उनले आफूले आफ्नो ठाउँबाट अहिले प्राप्त गरेको जिम्मेवारीलाई ईमानदारिता र निष्ठापूर्वक आफ्नो क्षमताअनुसार काम गर्ने पनि प्रण गरे । उनले विगतमा आफू ९ महिना कृषिमन्त्री भएको बेला नाकाबन्दीको अवस्थामा पनि मलको अभाव हुन नदिएको स्मरण गराए । कृषिमन्त्रीको कार्यकालको स्मरण गर्दै उनले भने,‘लागिपरे त हुने रहेछ नि, अघि यहाँ ऋषिजीले पनि यसबारेमा भन्नुभयो, मैले नाकाबन्दीको बेलामा पनि मल ल्याएँ । कसरी ल्याएँ भन्ने कुरा कुनै दिन यहाँहरुले सोध्नुभयो भने म भनौंला ।’

सो क्रममा उनले रिपोर्टर्स क्लब नेपालले आफ्नो स्थापनाकालदेखि नै खेलेको सक्रिय भूमिका र योगदानको बारेमा खुलेर प्रशंसा गरेका थिए । उनले भने,‘बास्तवमा विगतमा रिपोर्टर्स क्लबको मात्रै समाचार आउँथ्यो, त्यतिवेला ऋषि धमला भनेको धेरै ठूलो मान्छे हो जस्तो लाग्दथ्यो । उहाँले यो जग भत्किन दिनुभएन । जगलाई मजबुद बनाउनुपर्छ । यसको यो ओझलाई कायम राख्नुपर्छ ।’

क्लबका सभापति ऋषि धमलाले नेता गजुरेल इमानदार र स्वच्छ छवि भएको नेता रहेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे । उनले प्रधानमन्त्री दाहाललाई सफल बनाउनको लागि गजुरेलले महत्वपूर्ण भूमिका खेल्ने पनि विश्वास लिए ।

प्रतिक्रिया दिनुहोस्