बैतडीमा दुई व्यक्ति मृत फेला



बैतडी । यहाँ छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । नेपाल–भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका–४ जरगका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकामा उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार चन्द भारतमा रोजगारीपछि घर फर्किरहेका थिए । चन्दको मृत्युका कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै चार दिनदेखि बेपत्ता रहेकी सिँगास गाउँपालिका–६ थलाकाँडाका लोकेन्द्र धामीकी २० वर्षीया श्रीमती राधिका थलाकाँडाको उबखोला भन्ने ठाउँमा मृत फेला परेका छन् । राधिका यही माघ २ गते दिउँसो घाँस काट्न जान्छु भनेर घरबाट निस्केको बताइएको छ । घाँस काट्न निस्केकी उनी घर नआएपछि खोजी गर्दै जाँदा मृत भेटिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्