गैरआवासीय नेपालीको नागरिकताको मुद्दा छिट्टै सम्बोधन हुन्छ : गृहमन्त्री लामिछाने



काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर ज्ञापनपत्र बुझाएको छ । संघले हालसम्म गरिआएको काम,नेपाल सरकारको तर्फबाट सम्बोधन भई आएका विषय र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानुनी सुधार सम्बन्धमा गृहमन्त्री लामिछानेलाई ज्ञापन पत्र बुझाएको हो ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित भेटघाट कार्यक्रममा संघका कार्यकारी अध्यक्ष रबिना थापाले संविधानले नै परिकल्पना गरेको गैरआवासीय नेपाली नागरिकतालाई तत्काल कार्यान्वयनमा ल्याउन संघको तर्फबाट गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराए । बैदेशिक रोजगारीका नाममा टर्की, पूर्वी यूरोपका बुलगेरिया, क्रोएसिया, हंगेरी, रोमानिया,स्लोभाकिया लगायतका मुलुकमा बढ्दो मानव तस्करी अन्त्य गर्न ठोस् कदम चाल्न नेपाल सरकारले यथाशिघ्र पहल नगरेर भयावह स्थिति आउनेतर्फ सचेत गराउँदै अध्यक्ष थापाले सरकारले व्यवस्थित र प्रभावकारी रुपमा उक्त समस्याको हल गर्नुपर्नेमा जोड दिए।

यस्तै संघका अर्का अध्यक्ष डा बद्री केसीले संविधानको धारा २९१ ले विदेशमा रहेका नेपालीको मौलिक हक कुण्ठित गरेको भन्दै उक्त धारा हटाउनुपर्नेमा जोड दिए । अध्यक्ष केसीले गैरआवासीय नेपालीलाई विदेशी सरहको व्यवहार गर्दा लाखौँ गैरआवासीय नेपालीले विभेदमा परेको महसुस गरेको भन्दै त्यस्तो विभेदकारी अवस्थाको अन्त्यका लागि सरकारसँग आग्रह गरे । विदेशमा रहेका नेपालीले हवाई यात्रा गर्दा होस् वा लगानीका लागि ठाउँ खोज्दा पनि विदेशीलाई जस्तै व्यवहार गर्दा निराश हुनुपरेको भन्दै गृहमन्त्रीसमक्ष गुनासो गरे । दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई अध्ययन, रोजगारी, खेलकुद तथा अन्य माध्यमबाट नेपालसँग आबद्ध गराउनका आवश्यक व्यवस्था गर्न र विदेशबाट नेपाल पढ्न आउने गैरआवासीय नेपाली विद्यार्थीहरुलाई नेपाली विद्यार्थी सरह पाउने सुविधाको व्यवस्था र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारका लागि पहल गरिदिन समेत अध्यक्ष केसीले गृहमन्त्री लामिछानेलाई आग्रह गरे।

भेटका क्रममा संघका अर्का अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकतालाई तत्काल कार्यान्वयनमा ल्याउन यही संसदमार्फत प्रक्रिया अघि बढाउन आग्रह गरे । अध्यक्ष आचार्यले गैरआवासीय नेपालीले भिसा प्रक्रियामा भोग्नुपरेका समस्या, एयरपोर्टमा देखिएका समस्या लगायतका विषयमा गृहमन्त्री लामिछानेलाई जानकारी गराए । अध्यक्ष आचार्यले त्रिभुवन विमानस्थपलमा यसअघि सञ्चालनमा ल्याएको एनआरएन हेल्प डेस्क हाल बन्द रहेकोप्रति ध्यानाकर्षण गराउँदै त्यसलाई निरन्तर रुपमा सञ्चालनमा ल्याउन सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

भेटका क्रममा उपस्थित संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाल सरकारसँग गैरआवासीय नेपालीहरु सबै क्षेत्रमा सहकार्य गर्न तयार रहेकोले त्यसका लागि सहजीकरण गरिदिन आग्रह गरे । विदेशमा रहेका लाखौं नेपाली नेपालका लागि केही गर्न लालायित रहेको भन्दै महतोले त्यसलाई सरकारले प्रोत्साहन गर्न सके मुलुकको आर्थिक समृद्धिमा मद्दत पुग्ने उल्लेख गर्नुभयो ।

संघका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरआवासीय नेपाली नागरिकताको मुद्दा यथाशक्य छिटो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गैरआवासीय नेपाली संघका प्रतिनिधिसँगको भेटवार्ताका क्रममा गृहमन्त्री लामिछानेले नागरिकताको सबै विषयलाई एकै ठाउँमा राखेर समाधानको प्रयास गर्दा थप गिजोलिएको बताए । उहाँले भन्नुभयो, ”नागरिकताको सवालमा सबै कुरा एकै ठाउँमा हालियो सायद त्यसले गर्दा यो गिजोलियो । एक एक गर्दै ति गिजोलिएका विषयलाई केलाउँनु जरुरी छ । त्यसमा देखा परेका समस्या समाधानको जिम्मेवारी गृह मन्त्रालयको हो, र त्यो जिम्मेवारी पूरा गर्न मन्त्रालय सक्षम, सबल छ र प्रतिबद्ध छ ।”

गृहमन्त्री लामिछानेले विदेशमा भएका नेपालीको लगानीलाई सुरक्षित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो । गैर आवासिय नेपालीहरुले भोग्नुपरेको कानूनी र व्यवहारिक कठिनाइबारे सरकार जानकार रहेकाले यसलाई गम्भीर भएर समाधानको प्रयास खोजिने र नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि प्रक्रियागत रुपमा अघि बढ्ने उनको भनाई थियो । यस्तै, गैरआवासीय नेपालीको पैतृक सम्पतीको हकसम्बन्धी विषयलाई पनि क्रमशः टुंग्याउने प्रतिबद्धता उहाँले व्यक्त गरे। नेपाल विकासका सबै क्षेत्रमा सरकारले गैरआवासीय नेपालीसँग साझेदारी गर्ने भन्दै गृहमन्त्री लामिछानेले त्यसको लागि सबै मन्त्रालयगत सहकार्य र समन्वयसहित गृह मन्त्रालयले प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्