उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र गैरआवासीय नेपाली संघका प्रतिनिधिबीच भेटवार्ता



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई लामो समयदेखि संघले उठाउँदै आएका माग सम्बोधनका लागि आग्रह गरेको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज आयोजित भेटघाट कार्यक्रममा संघको प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरिएको छ ।

सो अवसरमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले संघले गर्दै आएका लोक कल्याणकारी तथा परोपकारी कार्य, नेपालमा गैरआवासीय नेपालीहरुको लगानी लगायतका विषयमा अर्थमन्त्री पौडेललाई जानकारी गराए । विदेशमा रहेका लाखौं नेपालीहरु नेपालमा लगानीका लागि उत्साहित भएपनि विभिन्न कानूनी र नीतिगत कठिनाईका कारण समस्या परेकोले त्यस्ता कठिनाई हटाउन कार्यकारी अध्यक्ष थापाले संघको तर्फबाट अर्थमन्त्री पौडेललाई आग्रह गरे । अध्यक्ष थापाले विदेशमा रहेका नेपालीलाई बिना कुनै उल्झन नेपालमा लगानी गर्न पाउने वातावरण निर्माण गर्न अर्थमन्त्री समक्ष अनुरोध गरे । नेपाल सरकारले हालसम्म गरेका नीतिगत सुधारका लागि आभार व्यक्त गर्दै कार्यकारी अध्यक्ष थापाले गैरआवासीय नेपालीले कानूनी रुपमा भोग्नु परेका व्यवधानलाई सम्बोधन गर्नुपर्नेमा अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराए ।

यस्तै, संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको लगानी अभिवृद्धि गर्न नेपाली नागरिक सरह लगानीको व्यवस्था गर्नुपर्नेमा जोड दिए । अध्यक्ष केसीले नेपाल सरकारको सहितको लगानी भएको करीब १० अर्ब बराबरको एन.आर.एन नेपाल डेभलपमेण्ट फण्ड लि. कम्पनी कार्यान्वयनमा ल्याउन देखा परेका कानूनी बाधा व्यवधानलाई हटाउन अर्थमन्त्री समक्ष आग्रह गरे । अध्यक्ष केसीले गैरआवासीय नेपाली ऐन लगायत गैरआवासीय नेपालीसँग प्रत्यक्ष सरोकार राख्ने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ९ँक्ष्त्त्ब्० र त्यससम्बन्धि नियमावली तथा आदेशमा संशोधन गर्न र लगानी सम्बन्धमा विद्यमान न्युनत्तम २ करोडको मापदण्ड हटाउन अर्थमन्त्रीसमक्ष आग्रह गरे । यस्तै, वैदेशिक रोजगारीबाट आउने विप्रेषणलाई वैधानिक च्यानलमार्फत ल्याउन प्रोत्साहन गर्न २ प्रतिशतसम्म प्रिमियम नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था गर्न समेत अध्यक्ष केसीले आग्रह गरे।

यस्तै अर्का अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताको विषयलाई तत्काल टुंगो लगाउन आग्रह गरे । अध्यक्ष आचार्यले डलर खाता सञ्चालनमा देखा परेका प्राविधिक समस्या समाधान गर्न, ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्डलाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाई समाधानका लागि अन्तरमन्त्रालयगत समन्वय गरेर समस्या सम्बोधन गरिदिन संघका तर्फबाट अर्थमन्त्री समक्ष आग्रह गरे । बहुसंख्यक नेपालीलाई नेपालसँग जोड्न र मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन पुजीँसहित उनीहरुको ज्ञान, सीप र क्षमता भित्र्याउन नेपाल सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्