प्रधानमन्त्री प्रचण्ड र गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलबीच भेटघाट सम्पन्न



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलबीच आज विशेष भेटघाट सम्पन्न भएको छ । भेटका क्रममा प्रधानमन्त्री दाहाललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरिएको छ । सो अवसरमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले हालसम्म संघले गरिआएको काम, नेपाल सरकारको तर्फबाट संम्बोधन भइआएका विषयहरु र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानूनी सुधार सम्बन्धमा संघको तर्फबाट धारणा राखेका थिए ।

यस्तै, संघका अध्यक्ष बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाईबारे जानकारी गराउँदै ती कठिनाईलाई तत्काल सम्बोधन गर्न आग्रह गरे।

विदेशमा रहेका बहुसंख्यक नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने, विदेशमा कामका शिलशिलामा अंगभंग भएका नेपालीलाई स्वदेश फिर्ता गर्नुका साथै उनीहरुका परिवारलाई आर्थिक सहायतासहित पुर्नएकीकरण लगायतका विषयमा नेपाल सरकारले पहलकदमी लिनुपर्ने माग अध्यक्ष केसीले संघका तर्फबाट राखेका थिए ।

यस्तै, संघका अध्यक्ष कुल आचार्यले संघले उठाएको गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न अनुरोध गर्नुभयो । ‘एक पटकको नेपाली सदैव नेपाली’ हुने भन्दै अध्यक्ष आचार्यले विविध कारण अन्योलमा परेको नागरिकताको विषयलाई यथाशक्य छिटो टुंगो लगाउन संघका तर्फबाट आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्