
काठमाडौं । नेपालमा गैँडा संरक्षणको विभिन्न उद्देश्यका साथ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ‘एसिया राईनो रेन्ज कन्ट्रिज मिटिङ’ नाम दिइएको सम्मेलन आगामी माघ २० देखि २२ गते (फेब्रुअरी ३ देखि ५ तारिख) सम्म चितवनमा हुनेछ । सम्मेलनमा एसियामा गैँडा पाइने देश नेपाल, भारत भूटान, मलेसिया र इण्डोनेसियाका सम्बन्धित सरकारी प्रतिनिधि, गैँडा संरक्षणमा काम गर्ने साझेदार संस्थाहरू, सरोकारवाला विशेषज्ञ समूहलगायतको सहभागिता रहनेछ । यस्तो सम्मेलन यसअघि पहिलो पटक इण्डोनेसियमा र त्यसपछि भारतमा भइसकेको छ ।
गैँडा संरक्षणमा देखिएका समस्याहरू, गैँडाको बासस्थानको क्षयीकरण, खण्डीकरण र विनाश, चोरी शिकार र अङ्गको अवैध व्यापार, जलवायुजन्य जोखिमको समाधान, गैँडाको जलवायु अनुकूलन गर्ने क्षमतालगायत विषयमा सम्मेलनमा छलफल हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
यस बाहेक गैँडा र मानवबीचको द्वन्द्व समाधान, स्थानीय समुदाय र निजी क्षेत्रलाई गैँडालाई आर्थिक उपार्जनको माध्यम पर्यापर्यटनबाट कसरी जिविकोपार्जनमा टेवा पुर्याउन सकिन्छ भन्ने सम्बन्धमा असल अभ्यासको आदानप्रदान गरिने विभागका महानिर्देशक डा महेश्वर ढकालले जानकारी दिए ।
सम्मेलनमा गैँडा संरक्षणका लागि प्रविधिको प्रवर्द्धन, गैँडाको बासस्थानलाई सुरक्षित गर्ने, द्वन्द्व व्यवस्थापन गर्ने, जलवायु उत्थानशीलता बढाउने विषय र जनचेतना बढाई स्थानीय र राष्ट्रिय समृद्धिमा टेवा पुर्याउने उद्देश्य राखिएको छ । यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको जैविक विविधताको पहिचानलाई अझ उच्च र चम्किलो बनाउने उद्देश्य रहेको डा।ढकालले बताए ।
सम्मेलनको उद्घाटन वन तथा वातावरण मन्त्रीबाट उद्घाटन गर्ने गरी तयारी गरिएको छ । उद्घाटनपछि प्राविधिक सत्रमा सम्बन्धित देशका गैँडाको अवस्थासम्बन्धी कार्यपत्र प्रस्तुत गरिनेछन् । केही विज्ञले कार्यपत्र प्रस्तुत गर्ने र त्यसपछि अहिलेसम्मको समीक्षा गरी आगामी दिनमा गर्नुपर्ने रणनीतिका बारेमा छलफल गरिने विभागका इकोलोजिष्ट डा।गणेश पन्तले जानकारी दिए ।
त्यसपछि सम्मेलनमा चितवन घोषणापत्र सार्वजनिक गरिनेछ । सम्मेलन गैँडा संरक्षणको वर्तमान अवस्था, चुनौती र भावी व्यवस्थापन गर्ने लगायतका विषयमा केन्द्रित हुनेछ भने सम्बन्धित देशका सरकारी प्रतिनिधि र विज्ञसहित १०० भन्दा बढीको सहभागिता रहने डा.पन्तले बताए ।





