चाँगुनारायण नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न



भक्तपुर । चाँगुनारायण नगरपालिकाले पहिलो पटक सार्वजनिक स्थानमा नै आफ्नो सार्वजनिक सुनवाइ सम्पन्न गरेको छ ।जनप्रतिनिधि निर्वाचित भएर आएपछि भएको प्रगति समीक्षा एवं आगामी दिनमा कस्तो काम गर्नु पर्छ त भन्ने विषयमा सार्वजनिक रूपमा नै नगरपालिकाले सार्वजनिक सुनुवाइ गरेको हो ।

नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सम्पादन गरेका कार्यको सार्वजनिक परीक्षण गरी जनताको धारणा सङ्कलन गर्न पहिलो पटक खुल्लमखुसल्ला वडा नं.१ को न्यौपाने गाउँमा सार्वजनिक सुनवाइ आयोजना गरेको हो ।

जनताका पिर मर्का एवं सुझाव सङ्कलनका हेतु उक्त कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा सहभागी स्थानीयले नगरपालिकाले सम्पादन गरिरहेका सेवामा टिप्पणी गर्दै विविध समस्या र सुझाव राखेका हुन् ।

कार्यक्रममा जनताका सुझाव उनीहरूले नै राख्न पाउँदा उनीहरू खुसी भएका थिए । पहिलो पटक सार्वजनिक रूपमा गरिएको उक्त सार्वजनिक सुनवाइलाई अघिल्लो स्थानीय निकायका जनप्रतिनिधिले जस्तो बन्द कोठामा सम्पन्न गरी काम गरे जस्तो मात्र नगर्न सुझाव सर्वसाधारणले दिएका थिए ।

कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले जनताबाट उठेका विभिन्न प्रश्नको विषयमा उत्तर दिएका थिए । उनले नगरमा सबै भन्दा धेरै उठ्ने गरेको विषय बस्ती नेपाल इन्जिनियरिङ कलेज, वीर अस्पताल , खानी सञ्चालनका विषयमा , प्लानिङ, सडक, सम्पदा क्षेत्र संरक्षण लगायतका विषयमा उठेका प्रश्नमा उनले जवाफ दिएका थिए । उनले वीर अस्पताल निर्माणमा हरेक तवरबाट नगरपालिका सहयोग गर्न तत्पर भएको बताएका थिए ।

यस्तै अर्को विषय नेकको विषयमा उठेको प्रश्नमा उनले नेकमा बजारमा चलाएजस्तो हल्ला केही नभएको बताउँदै । नेक सञ्चालनका लागि नगरपालिकाले कार्यविधि बनाएको भने पनि अघिल्लो कार्यकालका जनप्रतिनिधिले नै यसमा बेवास्ता गर्दै आएको बताए । उनले नेकको हाल सम्म लेखा परीक्षण समेत नभएको र आफूले कागजात माग्दा नेकका प्रिन्सिपल भाग्ने गरेको समेत बताए ।

उनले नेकको विषयमा अदालतमा मुद्दा विचाराधिन रहेको र उक्त मुद्दा किनारा नलागे सम्मका लागि सञ्चालन गर्न नगरपालिका र पोखरा विश्वविद्यालयको एउटा संयन्त्र बनाउन भनिएको भए पनि नगरपालिकाले विश्व विद्यालय सँग कुनै सहकार्य नै नगरेको आफूले पाएको बताए ।

उनले नेकमा हालका जनप्रतिनिधिले गएर अध्यक्षता गरेनन् चलखेल गरे भनेर आरोप मात्र लगाउने गरेको तर कुनै पनि कागज तथा हिसाब किताब भने लुकाउन गरेको आरोप समेत लगाए । उहाँले नेपाल इन्जिनियरिङ कलेजले विगतका निर्णय अनुसार कार्य नगरेको, हिसाब किताब पेस गर्न नसकेको, लेखा परीक्षण नभएको कारणले कलेजको बैठक नराखेको स्पष्ट पारेका थिए ।

यस्तै नगरका कुनै पनि स्थानमा नगरपालिकाले माटो सम्माउन तथा डोजर लगाउन रोक लगाएको समेत उनले बताएका थिए । खानी सञ्चालनका सवालमा उनले हिजो खानी थिए । अहिले उक्त स्थानमा जग्गा बिग्रेका छन् उक्त जग्गा सम्माउन तथा खेती योग्य बनाउन सर्वपक्षीय छलफलमा आफू लागेको समेत उनले बताए ।

यस्तै विभिन्न विषयमा उनले जनताबाट उठेका प्रश्नको विषयमा प्रस्ट पारेका थिए । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरले सहजीकरण गरेको कार्यक्रममा महासङ्घले चाँगुनारायण नगरपालिकाका विभिन्न कार्यालयमा
स्थलगत अनुगमन गरी सेवाग्राहीले दिएका प्रतिक्रियाका आधारमा तयार गरिएको सेवाग्राही बहिर्गमन अभिमत सन्तुसष्टि र नागरिक प्रतिवेदन सर्वेक्षण प्रतिवेदन २०७९ शाखाका सचिव सन्जीप घिमिरे ‘शुभचिन्तक’ले सार्वजनिक गरी वाचन गरेका थिए ।

नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले प्रतिवेदन तयार गर्न महासङ्घले वडा वडामा स्वयम् सेवक खटाएको र सेवाग्राहीबाट प्राप्त प्रतिक्रियाका आधारमा प्रतिवेदन तयार गरिएको स्पष्ट पार्दै नगरपालिकाले प्रदान गरेको जिम्मेवारीलाई धन्यवाद दिए ।

त्यसै गरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरामणि सुवेदी, शिक्षा शाखा प्रमुख वीर बहादुसर खड्का, सुचना अधिकारी निला कुमारी घिमिरेले स्थानीयले उठाएका गुनासोको संक्षिप्त जवाफ दिए । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरू नेपाली काँग्रेसका नगर सभापति शिवहरि केसी, नेकपा एमालेका नगर उपाध्यक्ष जयराम बास्तोला,

नेकपा माओवादी केन्द्रका नरेश खड्काले विकासमा कार्यगत एकता, नीति निर्माणमा ऐक्यबद्धताको नीति अनुरूप नगरपालिकाले गर्ने कार्यको गुण र दोषका आधारमा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्