
जनकपुरधाम । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा डा. पंकज चौधरी पक्राउ परेका छन् ।
मंगलबार साँझ महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का ३५ वर्षीय पंकजलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तोष पोखरेलले जानकारी दिए ।
यसअघि गत कार्तिक ४ गते नेहाले घरेलु हिंसा सम्बन्धि उजुरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दर्ता गराएकी थिइन् । त्यस समय पनि तीन दिन प्रहरीले पंकजलाई थुनेको थियो ।
दाइजोविरुद्धको कसुरमा कारबाही चलाउन पंकजमाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ ।





