चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा बनाइएका घरटहरा भत्काइए



काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा बनाइएका घरटहरा भत्काउने कामलाई निरन्तरता दिइएको छ । निकुञ्जको कुसुम खोलामा बनाइएका नौ घर टहरा भत्काइएको छ । घर टहरासँगै पूजा गर्नका लागि भन्दै बनाइएको मन्दिरको संरचना पनि हटाइएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाले ती संरचना भत्काएको हो । विगत दुईरतीन महिनायता बनाइएका संरचना भत्काइएको उनले जानकारी दिए । विगतदेखि नै रहेको काजीमान प्रजाको घर भने भत्काइएको छैन । काजीमानको सहित १२ घर सो क्षेत्रमा रहेका छन् । ती क्षेत्रमा टहरा बनाएपछि जग्गा पाइन्छ भन्ने हल्ला चलाएर ठाउँठाउँबाट मानिस घर टहरा बनाउन आउने गरेको उनले जानकारी दिए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले कुसुम खोला जाँदै गरेका कतिपय भेटिएकालाई बगही पोष्टबाट समेत फर्काउने गरिएको बताए । उनले भने, “नियमित रुपमा अवैध ढङ्गले त्यहाँ बनाइएका संरचना भत्काउने गरेका छौँ ।” सो क्षेत्रमा समय समयमा संयुक्त सुरक्षा गस्ती पुगेर बनाइएका घर टहरा भत्काउने गरेको उनले बताए ।

दुई वर्षअघि हात्ती लगाइ भत्काउनाका साथै निकुञ्जले सो बस्तीमा आगजनी गरेको थियो । घर टहरामा आगजनी गरेपछि उक्त विषयले ठूलो चर्चा पाएको थियो । पुनः सो क्षेत्रमा बाहिरबाट मानिस गएर बसोवास गर्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्