भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गर्दै



काठमाडौं । भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो । यात्रुको चाप हुने यो विमानस्थल विस्तारका लागिसमेत प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणले टर्मिनल भवनका लागि बोलपत्र आह्वान गरी प्राविधिक मूल्याङ्कनको क्रममा छ । प्राधिकरणका इञ्जिनियर नलविक्रम थापाका अनुसार ६ वटा कम्पनीको बोलपत्र पेस भएको छ ।

ती प्रस्तावको प्राविधिक मूल्याङ्कनपछि आर्थिक प्रस्तावबाट अन्तिम टुङ्गो लगाएर सम्झौता गरिने छ । उनको भनाइमा पुस महिनाका अन्तिम सातासम्ममा सम्झौता भइसक्छ । बोलपत्रको रकम रु दुई अर्बको हाराहारी रहेको भन्दै उनले एकिन रकम आर्थिक प्रस्तावपछि थाहा हुने बताए । तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी सम्झौता गरिनेछ ।

अत्याधुनिक किसिमको ७ हजार सात सय ४९ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गरिने छ । यससँगै टावर हुनेछ । विमानस्थलको धावन मार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको हो । नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गरी विमानस्थलको धावन मार्ग विस्तार गर्ने योजना रहेको छ । नेपाली सेनासँग प्राधिकरण छलफलमा रहेको थापाले जानकारी दिए ।

उनले भने– “विमानस्थलको धावनमार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको हो ।” हाल धावनमार्गको उडान र अवतरण हुने क्षेत्रमा अग्ला घर भएका कारण जहाजले कम यात्रु मात्रै बोक्ने गरेका छन् । धावनमार्ग विस्तारसँगै ठूला जहाज उडान गर्न सकिने र रात्रिकालीन उडानसमेत हुनेछन् ।

भरतपुर महानगरपालिकाले यो विमानस्थललाई विस्तार गर्न पटक–पटक महानगरपालिकामै छलफल गरिसकेको छ । महानगर प्रमुख रेनु दाहालले प्राधिकरण र नेपाली सेना सकारात्मक रहेकाले विमानस्थल विस्तारको काम हुनेमा आफू ढुक्क रहेको बताइन् । नेपाली सेनालाई वैकल्पिक ठाउँको व्यवस्था महानगरले गर्नका लागि विभिन्न ठाउँ प्रस्तावसमेत गरिसकेको छ ।

छोटो धावन मार्ग र वरिपरि घर भएकाले दुर्घटना हुन नपाओस् भन्नका लागि धावनमार्ग विस्तार गर्न सरोकारवालाले निरन्तर दबाब दिँदै आएका छन् । यहाँबाट काठमाडौँ, पोखरा र भैरहवा उडान हुँदै आएको छ । हाल बुद्ध र गुण एयरले दैनिक १० हाराहारी उडान गर्दै आएका छन् । सन् २०२१ मा यहाँबाट आवतजावत गर्नेको सङ्ख्या ११ लाख ७६ हजार थियो ।

प्रतिक्रिया दिनुहोस्