हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्स बन्यो बास्केटबल च्याम्पियन



काठमाडौं । हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्स ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् । हेम्सले सिनियर ब्वाइज, इनोभेटिभले सिनियर गल्र्स र काठमाडौं जेभियर्सले जुनियर ब्वाइजको उपाधि जिते ।

प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा हेम्सले एआईएलाई ३४–२७ ले पराजित ग¥यो । जितमा हेम्सका हेमन्त राजवंशीले २० अंक योगदान गरे । स्प्याङ्गल तेश्रो भयो ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा पूजा थापाको १० अंक सहयोगमा इनोभेटिभले काठमाडौं जेभियर्सलाई १२–७ ले हरायो । चैतन्य संस्कार शिक्षालयले तेश्रो स्थानमा चित्त बुझायो ।
घट्टेकुलोस्थित सूर्योदय माविमा भएको जुनियर ब्वाइजको फाइनलमा काठमाडौं जेभियर्सले चैतन्यमाथि २२–१४ को जित रच्यो । काठमाडौं जेभियर्सका सुविन बस्नेतले ८ स्कोर गरे । सूर्योदय तेश्रो बन्यो ।

सिनियर ब्वाइजमा हेम्सका दृष्य खड्का, सिनियर गल्र्समा इनोभेटिभकी पूजा थापा र जुनियर ब्वाइजमा काठमाडौं जेभियर्सका सुविन बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा एआईएका दिगेश आले मगर, सिनियर गल्र्समा काठमाडौं जेभियर्सकी सन्ध्या थापा र जुनियर ब्वाइजमा चैतन्यका समिर केसी प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
सिनियर ब्वाइजमा चैतन्य, सिनियर गल्र्समा स्वप्नवाटिका र जुनियर ब्वाइजमा एआईए अनुशासित टिम चुनिए ।

विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगाना, प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल आचार्य, प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष लक्ष्यबहादुर केसी, आयोजक प्याब्सन मध्य क्षेत्रीय कमिटीका अध्यक्ष दिनेशकुमार पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सिनियर ब्वाइजमा १७, सिनियर गल्र्समा १४ र जुनियर ब्वाइजमा ९ गरी जम्मा ४० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

बेस्ट ग्रुप र लोयल्टी सेमिफाइनलमा
बेस्ट ग्रुप भिजन एकेडेमी र लोयल्टी एकेडेमी पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा बेस्ट ग्रुपले श्री सञ्जय साइ मन्दिरलाई २–१ गोलले पराजित ग¥यो । सेमिफाइनलमा श्री सञ्जयको भेट लाइसियम प्याराडाइससंग हुनेछ ।
चौथो तथा अन्तिम सेमिफाइनलमा लोयल्टीले अर्किडलाई ७–० गोलले हरायो । सेमिफाइनलमा लोयल्टीले आयोजक नेक्सस इन्टरनेसनल एकेडेमीको सामना गर्नेछ । दुवै सेमिफाइनल बिहीबार हुने प्रतियोगिता संयोजक विवेक कट्वालले जनाएका छन् । फाइनल शनिबार हुनेछ ।

सूर्य नेपाल गल्फ टुरको सिजन सुरु
नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा सूर्य नेपाल गल्फ टुर, २०२२–२०२३ को सिजन मंगलबारदेखि सुरु हुँदैछ ।
विभिन्न आठ प्रतियोगिता समावेश टुरअन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि आरएनजीसीमा हुने आयोजकका महासचिव दीपक आचार्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
चारदिनसम्म चल्ने प्रतियोगितामा ३१ व्यवसायिक र ५ एमेच्योर खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख ७० हजार रुपैयाँ छ ।

डिसेम्बर २१ देखि २४ तारिखसम्म धरानमा सूर्य नेपाल इस्टर्न ओपन, जनवरी १६–१९ तारिखसम्म गोकर्णमा सूर्य नेपाल सेन्ट्रल ओपन, फेब्रुअरी १ देखि ३ तारिखसम्म आरएनजीसीमा सूर्य नेपाल एनपीजीए म्याच प्ले, फेब्रुअरी २२ देखि २५ तारिखसम्म पोखरामा सूर्य नेपाल वेस्टर्न ओपन, मार्च १४ देखि १७ तारिखसम्म आरएनजीसीमा सूर्य नेपाल च्यालेन्ज, अप्रिल १८–२१ तारिखसम्म गोकर्णमा सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप र मे ८–१२ तारिखसम्म गोकर्णमा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुनेछ ।

आठ प्रतियोगिताको कूल पुरस्कार राशी ६१ लाख ८५ हजार रुपैयाँ रहेको छ । इस्टर्न ओपन, सेन्ट्रल ओपन, वेस्टर्न ओपन र एपीएजीए टुरको पुरस्कार राशी समान ८–८ लाख रुपैयाँ रहेको छ । एनपीजीए म्याच प्लेको २ लाख ५० हजार, नेपाल च्यालेन्जको ५ लाख ४५ हजार र प्रिमियर गल्फको १५ लाख २० हजार रुपैयाँ पुरस्कार राशी रहेको छ ।

एसोसिएसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले युवा खेलाडीको उत्कृष्ट प्रदर्शन हेर्न उत्सुक रहेको बताउदै निरन्तर सहयोगका लागि सूर्य नेपाल प्रा.लि. लाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्