संसदीय यात्रामा प्रवेश गर्दै गंगा कार्की



काठमाडौं । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य गङ्गा कार्की निर्वाचित भएका छन् । नेता कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ८२ मत प्राप्त गरे ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका ५७ वर्षे कार्की दोलखाको जुँगु गाविस–७ फाल्टुकमा विसं २०२२ मा पिता टेकबहादुर कार्की र माता अमृतकुमारी कार्कीको कोखबाट पहिलो सन्तानका रुपमा जन्मिएका थिए । पार्टीमा उनी ‘विश्व’ उपनामले परिचित छन् ।

उनका जेठो छोरा विश्वास कार्की स्थानीय तहको निर्वाचनमा गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । उनको राजनीतिक जीवन २०४२ सालबाट सुरु भएको हो । उनले विसं २०४८ सालमा नेकपा एकता केन्द्रको जिल्ला सचिव भएर काम गरेका थिए भने विसं २०४८ मा एकता केन्द्रको क्षेत्रीय ब्यूरो सदस्य पनि भएका थिए ।

कार्कीले जनयुद्धको अवधिमा विसं २०५४ मा सोलु ओखलढुङ्गाको जिल्ला सचिव, २०५५ देखि साढे तीन वर्ष भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ र धनुषाको जिल्ला सचिव र इञ्चार्जको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।

प्रदेशसभा १ मा कांग्रेस र प्रदेशसभा २ मा एमाले

दोलखा प्रदेशसभा १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले निर्वाचित भए । सत्ता गठबन्धनका उम्मेदवार काफ्लेले २३ हजार तीन सय ३१ मत प्राप्त गरे । उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन् । उनका प्रतिस्पर्धी एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गरेका थिए । उनी नेकपा (एमाले) का दोलखाका अध्यक्ष हुन् ।

प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् । उनले १९ हजार चार सय १४ मत प्राप्त गरे । उनी यसअघि भीमेश्वर नगरपालिकाको प्रमुख रहेका थिए। केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार पाँच सय ९५ मत प्राप्त गरे । उनी नेपाली कांग्रेस दोलखाका सभापति हुन् ।

दोलखामा कूल ८५ हजार तीन सय ८८ मत खसेको थियो । जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र थिए । जिल्लामा कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए । प्रतिनिसभा र प्रदेशसभा निर्वाचनमा १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेकपा (माओवादी केन्द्र) र दुई प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा (एमाले) एक/एक क्षेत्रमा विजयी भएका छन् ।

समानुपातिकमा एमाले अगाडि

दोलखामा प्रतिनिधिसभा समानुपातिकतर्फ ६५ हजार तीन सय ६२ मतगणना हुँदा नेकपा ९एमाले० ले २३ हजार चार सय ४० मत प्राप्त गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २१ हजार एक सय २३ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले नौ हजार दुई सय ५१ मत प्राप्त गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) ले दुई हजार ६२, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार पाँच सय २० र राष्ट्रिय स्वतन्त्र पार्टीले तीन हजार आठ सय ४८ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्