इन्द्रचोकमा तीन चिनियाँबीच झडप हुँदा एकको मृत्यु, १ घाइते



काठमाडौँ । काठमाडौंको इन्द्रचोकमा हिजो तीन जना चिनियाँ नागरिकबीच भएको झडपमा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । झडपका क्रममा गम्भीर घाइते भएका २९ वर्षे चिनियाँ नागरिक गान साउसियङको मृत्यु भएको हो ।

उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । हिजो पूर्वाह्न साढे ११ बजेतिर लेनदेनका विषयमा विवाद हुँदा तीन जना चिनियाँ नागरिकबीच इन्द्रचोकमा झडप भएको थियो ।

३७ वर्षे चिनियाँ नागरिक फङ चुङयुनले धारिलो हतियार प्रहार गरी दुई जना चिनियाँलाई घाइते बनाएका थिए । फङ चुङयुनले हतियार प्रहार गरेपछि घाइते भएका ली चुवान र गान साउसियङलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । उपचारका क्रममा गानको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्