कपिलवस्तुमा ३७ हजार मत बदर



काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ३७ हजार बढी मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका निर्वाचन अधिकृत राजीव पन्थीका अनुसार प्रत्यक्ष तथा समानुपातिक गरी ३७ हजार सात सय ३६ मत बदर भएको हो ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १३ हजार चार सय ५६ मत बदर भएको छ भने प्रदेशसभामा ११ हजार एक सय ४३ मत बदर भएको पन्थीले जानकारी दिए । तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा सबैभन्दा बढी मत क्षेत्र नं ३ मा बदर भएको छ ।

क्षेत्र नं ३ मा प्रत्यक्षतर्फको प्रतिनिधिसभामा पाँच दशमलव ३१ प्रतिशत मत बदर भएको छ भने दुवै प्रदेशसभा १ मा चार दशमलव ३२ प्रतिशत र प्रदेशसभा २ मा पाँच दशमलव ८१ प्रतिशत मत बदर भएको छ ।

जिल्लामा सबैभन्दा कम मत क्षेत्र नं २ मा बदर भएको छ । प्रतिनिधिसभातर्फ तीन दशमलव ८१ प्रतिशत मत बदर हुँदा प्रदेशसभा १ मा दुई दशमलव ६० प्रतिशत र प्रदेशसभा २ मा चार दशमलव ६५ प्रतिशत मत बदर छ ।

क्षेत्र नं १ मा पाँच दशमलव ८७ प्रतिशत मत बदर भएको छ । प्रदेशसभा १ मा तीन दशमलव ८१ प्रतिशत र प्रदेशसभा २ मा पाँच दशमलव ६४ प्रतिशत मत बदर छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा समानुपातिकतर्फ क्षेत्र नं १ मा पाँच दशमलव ३३ प्रतिशत, क्षेत्र नं २ मा चार दशमलव १८ प्रतिशत र क्षेत्र नं ३ मा पाँच दशमलव ९९ प्रतिशत मत बदर भएको छ ।

जिल्लामा मतदाता शिक्षा प्रभावकारी नभएको कारण मत बदर भएको कपिलवस्तु नागरिक समाजका अध्यक्ष डोलकबहादुर पछाईँको भनाइ छ । “हरेक निर्वाचनमा मत बदर हुने गरे पनि त्यसलाई कम गर्ने कुनै योजना बनेको देखिँदैन”, उनले भने।

जिल्लामा कुल मतदाता तीन लाख ६८ हजार दुई ३२ रहेकामा दुई लाख ५३ हजार पाँच सय नौ मत खसेको थियो । जिल्लामा ६७ दशमलव दुई प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका सूचना अधिकारी अनिता क्षेत्रीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्