मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु



काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जंगलमा बिहीबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको स ९ प १५९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा मृत्यु हुनेमा पर्साको मिर्जापुरका ३८ वर्षीय प्रहरी हवल्दार बाबुलालप्रसाद साह र पर्साकै पकहा मैनापुर–१ का २७ वर्षीय रामलोचनकुमार पटेल रहेको प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

दुवैको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। उनीहरू प्रदेश २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकलका चालक र त्यसमा सवार रहेका प्रहरीले जनाएको छ।

दुर्घटनामा सिरहाको करजनहा नगरपालका–११ का ५० वर्षीय चन्देश्वर महतो र उनकी श्रीमती ४५ वर्षीया जयन्तीदेवी महतो घाइते भएका छन्।

घाइते दुवैको लालबन्दी नगरपालिकाको नवलपुरस्थित सत्यम अस्पतालमा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्