झापा २ (१) मा एमालेका कार्की र ३ (१) मा कांग्रेसका राजवंशी निर्वाचित



काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार झापा २ को प्रदेश १ मा नेकपा (एमाले)का एकराज कार्कीले १८ हजार सात सय ३१ मत प्राप्त गरी विजय भएको क्षेत्र नं २ का निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए ।

विजयी कार्कीका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पुष्पराज पोखरेलले छ हजार एक सय एक मत प्राप्त गर्नुभएको छ । कार्की र पोखरेलको मतान्तर १२ हजार ६ सय ५१ मत रहेको छ ।

झापा क्षेत्र नं. २ को प्रदेशसभा १ मा ३८ हजार पाँच सय ४८ मत खसेको थियो । जसमा ती हजार तीन सय ३० मत बदर भएको निर्वाचन अधिकृत पन्तले जानकारी दिए । कार्कीले जीतसँगै दोस्रो पटकको प्रदेशसभाको यात्रा तय गरेका छन् । उनी २०७४ सालको संसदीय निर्वाचनमा समेत झापा २ को प्रदेशसभा १ बाट विजयी भएका थिए ।

यस्तै झापा क्षेत्र नं ३ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी विजयी भएका छन् । राजवंशीले २० हजार सात सय ७० मत प्राप्त गरि विजयी भएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का वसन्त बानियाँले १९ हजार सात सय एक मत प्राप्त गरेका छन् । झापा क्षेत्र नं. ३ को प्रदेशसभा १ मा ४५ हजार दुई सय ९५ मत खसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्