संखुवासभामा अझै सकिएन मतपेटिका संकलन, हेलिकोप्टरबाट खाँदवारी ल्याइँदै



विराटनगर । संखुवासभामा मध्य राती १२ बजेसम्ममा सबै मत पेटिका संकलन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संखुवासभाको सबैभन्दा टाढा रहेको किमाथांका, थुदाङ र रिदाक क्षेत्रको मतपेटिका केहीबेर अघि मात्र नेपाली सेनाको हेलिकोप्टरबाट खाँदवारी ल्याईएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हेलिकोप्टरबाट ल्याइएका मध्ये किमाथांकाका २७८ मतदाता मध्ये १४५ जनाले मतदान गरेका छन्, त्यस्तै खुदाङ मतदान केन्द्रमा ६९ मतदाता रहेकोमा १६ जनाले मात्र मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

रिदाक मतदान केन्द्रमा १९८ मतदाता रहेकोमा ९६ जनाले मतदान गरेको संखुवासभामा सहायक निर्वाचन अधिकृत ईन्द्रप्रसाद सापकोटाले जानकारी दिए । यी क्षेत्रको मत पेटिका लिनको लागि सेनाको हेलिकोप्टर गएको थियो । यी मतदान केन्द्रहरुबाट मत पेटिका संकलन गर्न पैदलबाट करिब ५ दिनसम्म लाग्ने गरेको थियो । संखुवासभा सदरमुकाम खाँदबारीबाट करिब ५६ कोश टाढा रहेको च्याम्ताङ मतदान केन्द्रबाट मतपेटिका अझै आएको छैन । भोटखोलाको ११ केन्द्रको मतपोटिका हटिया गोलामा राखिएको छ ।

भोटखोला र सिलिचोङ क्षेत्रका मत पेटिका ल्याउनका लागि बेलुकासम्म भोटखोलाको हटियामा ल्याएर मात्र खाँदवारी ल्याउने तयारी रहेको सहायक निर्वाचन अधिकृत सापकोटाले बताए । आज राती ११ बजेसम्म सबै मत पेटिका संकलन हुने जनाईएको छ ।

‘स्थानीय प्रशासनको समन्वयमा सबै ठाउँमा गाडी पठाएको छ, उनले भने, एक ठाउँमा संकलन भएपछि गाडीबाट ल्याउने तयारी छ ।’

सिलिचोङ र भोटखोला क्षेत्रका करिब ८० वटा मत पेटिका आउन बाँकी रहेको सापकोटाले बताए । संखुवासभामा मंगलवारदेखि मात्र मत गणना हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्