बागलुङमा पनि मतदानको तयारी धमाधम



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार मतदान हुँदैछ । यहाँका दुई सय ३१ वटै मतदान केन्द्रमा व्यवस्थापकीय तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा शुक्रबार नै सर्वदलीय बैठक सम्पन्न भएको छ । जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले शनिबार ‘बुथ’ निर्माणको काम हुने बताए ।

“निर्वाचन सामग्रीसहित, कर्मचारी, सुरक्षाकर्मी बिहीबार नै मतदान केन्द्रमा पुगिसक्नुभएको छ, अहिले मतदान केन्द्र केन्द्रित तयारी चलिरहेको छ”, उनले भने । मतदान सुरु हुन केही घण्टा बाँकी रहँदा मतदाता आफ्नो मताधिकार प्रयोगको पखाईमा छन् । जिल्ला बाहिर रहेका मतदाता पनि मन परेको उम्मेदवारलाई मत दिन गाउँ फर्किरहेका छन् । स्थिर समय सुरु भएका कारण दलका गतिविधि भने ठप्प छन् ।

निर्वाचन गराउन जिल्लाभर गरी एक हजार आठ सय ५४ कर्मचारी र नौ सय २६ स्वयंसेवक खटिएका छन् । यहाँ कूल एक सय छ मतदानस्थल र दुई सय ३१ मतदान केन्द्र रहेका छन् । जिल्ला कारागारका बन्दीसहित सुरक्षाकर्मी र कर्मचारीका लागि गरी दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कूल एक लाख ९२ हजार २२६ मतदाता छन् । क्षेत्र नं १ मा ९६ हजार ६६५ र २ माा ९५ हजार ५६१ मतदाता छन् । प्रतिनिधिसभा सदस्यका दुई र प्रदेशसभा सदस्यका चार सिटका लागि यहाँ ३१ उम्मेदवार चुनावी मैदानमा छन् ।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन जिल्लाको सुरक्षा प्रबन्ध पनि चुस्त पारिएको छ । सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन सुरक्षा निकाय लागिपरेका छन् । जिल्लाका कुल एक सय छ मतदानस्थलमध्ये ३५ प्रतिशतलाई अतिसंवेदनशील, १५ प्रतिशतलाई संवेदनशील र ५० प्रतिशतलाई सामान्यमा वर्गीकरण गरी सुरक्षा रणनीति तयार पारिएको छ ।

मतदानस्थलको अवस्था र संवेदनशीलता हेरेर सुरक्षा योजना बनाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ । समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी रमेश ढकालले राज्यका चार वटै सुरक्षा निकायको समन्वयबाट सुरक्षा व्यवस्थापनको काम भइरहेको बताए ।

सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी आठदेखि २२ जनासम्म सुरक्षाकर्मी एउटा मतदान केन्द्रमा परिचालन गरिएको छ । मतदान केन्द्रको भित्री सुरक्षामा जनपद र म्यादी प्रहरी खटिनेछन् भने बाहिरी सुरक्षा घेरामा भने सशस्त्र प्रहरी र नेपाली सेना रहनेछ । रासस

प्रतिक्रिया दिनुहोस्