प्रदीप पौडेलले सरकारी जग्गा बाबुको नाममा दर्ता गरेको खुलासा



काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले तनहुँमा सरकारी जग्गा आफ्नो बाबुको नाममा दर्ता गरेको खुलासा भएको छ ।

तनहुँको दुलेगौंडाबाट स्याङ्जा जाने सार्वजनिक सडक र आसपासको जग्गा प्रदीप पौडेलले आफ्नो बाबु डिल्लीरमण पौडेलको नाममा दर्ता गरेको रहस्य सार्वजनिक भएको हो ।

साविक ढोरफिर्दी गाविस वडा नम्बर ३ गणपति बजार नजिकै पर्ने हालको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ स्थित नक्सा नम्बर ३ ‘ख’ को कित्ता नम्बर १३९१ को एक रोपनी जग्गा प्रदीपले बाबुका नाममा दर्ता गराएका हुन् । प्रदीपले उदयराज गौलीको नेतृत्वमा २०५२ सालमा बनेको सकुम्बासी आयोगबाट घरनजिकैको यो जग्गा हड्पेका हुन् ।

२०४५ सालतिर नै यो सडक बनिसकेको थियो । तर, सडकको आसपासको जग्गा करोडौं पर्ने लोभले उनीहरुले सडक र वरपरको जग्गा २०५२ सालमा सुकुम्बासी आयोगबाट आफ्नो नाममा दर्ता गर्न सफल भएका हुन् । स्थानीय बासिन्दाका अनुसार, प्रदीपका बाबु शिक्षक थिए । उनीहरु सुकुम्बासी होइनन् । तर, काँग्रेसका नेता गौली सुकुम्बासी आयोगको अध्यक्ष भएका बेला उनीहरुले सरकारी जग्गा आफ्नो नाममा दर्ता गरेका हुन् ।

तनहुँमा टिकट नै नपाएपछि प्रदीप यतिबेला काठमाडौं क्षेत्र नम्बर ५ मा आइपुगेका छन् । कांग्रेसका प्रभावशाली डा.प्रकाशशरण महत समेत चुनाव लड्न डराएर समानुपातिकमा बसेका बेला प्रदीपका लागि काठमाडौं क्षेत्र नम्बर ५ मा चुनाव जित्ने कुनै सम्भावना नै नभएको बताइन्छ । काठमाडौं क्षेत्र नम्बर ६ मा प्रदीपले बनाएको घरको बारेमा समेत प्रश्न उठेको छ ।

प्रदीप पौडेलको नेतृत्वमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई अंगभंग हुने गरी कुटपिट समेत भएको थियो । प्रदीप उम्मेदवार भएपछि चलाउनेले ट्वीट गर्दै गुण्डाको संरक्षण, अपराधको राजनीतिकरण गर्नमा माहिर प्रदीप पौडेलले सदाचारको पाठ कसरी पढाउन सकेको भनेर प्रश्न उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्