मंसिर ४ को निर्वाचनका लागि बैतडीमा तयारी तीव्र



काठमाडौं । मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा तयारी तीव्र पारिएको छ । निर्वाचनको मिति नजिकिएसँगै तयारी पनि तीव्र पारिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए ।

जिल्लाका १० वटै स्थानीय तहका मतदान केन्द्रमा चाहिने मतपत्र र निर्वाचन सामग्री यसअघि नै जिल्ला पुगिसकेका छन् । प्रत्येक मतदान केन्द्रमा पठाउने मतपत्र र निर्वाचन सामग्री तयार पार्ने र सिल गर्नेलगायत कार्य अन्तिम चरणमा पुगेको छ । मङ्सिर २६ गतेदेखि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएर मतदान केन्द्रमा खटाइने भएको छ । प्रत्यक्ष र समानुपातिकको मतपत्र आइपुगेको र मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिमदिएसँगै उनीहरूलाई मतपत्र र निर्वाचन सामग्री पनि दिइने उनले बताए । निर्वाचन अधिकारी फुयाँलले भने, “निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा पठाइने मतपत्र र निर्वाचनका लागि आवश्यक सामग्री कर्मचारीलाई तालिमपछि हस्तान्तरण गर्ने तयारीमा छौँ ।”

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्वक सम्पन्न गर्न आचारसंहिता पालना गर्न आग्रह गरिएको छ । यसका साथै जिल्ला सुरक्षा समितिले मतदानस्थल र मतदान केन्द्र अनुगमनसमेत गरिसकेको छ । मतदान केन्द्रको अवस्था, बाटोघाटोको अवस्था र सुरक्षा स्थितिलाई ध्यान दिइएर मतदानस्थलमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । निर्वाचनलाई भयरहित र निष्पक्षरुपमा सम्पन्न गर्न सुरक्षा योजना तयार गरिएकाले ढुक्क भएर निर्वाचन गर्न उनले सबैलाई आग्रह गरे । सबै स्थानीय तहमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली पुगिसकेको जनाइएको छ ।

जिल्लामा एक सय २९ मतदानस्थल, दुई सय १० मतदान केन्द्र र एउटा अस्थायी मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा एक हजार छ सय ८४ कर्मचारी परिचालन गरिने भएका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी गरी एक हजार छ सय ८४ जनशक्ति परिचालन गरिने भएको हो । पाँच सयसम्म मतदाता भएको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, चार सहायक कर्मचारी, तीन स्वयंसेवक र एक कार्यालय सहयोगी खटिनेछन् । एक हजारसम्म मतदाता भएको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी, चार स्वयंसेवक र एक कार्यालय सहयोगी खटिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतपत्र बदर हुन नदिन स्थानीय पालिकामा नमूना मतदान कार्य र समुदायरस्तरमै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गरिएको छ । आसन्न निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरेर एक मतदाताले चार मतपत्रमा मतदान गर्नुपर्नेछ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न एवं आचारसंहितालाई कडाइका साथ पालना गराउन यहाँ निर्वाचनको अन्तिम मतपरिणाम नआउँदासम्म मदिराको कारोबार, ओसारपसार र सेवन पूर्णरुपमा निषेध गरिएको छ । मदिराका कारण निर्वाचनका समयमा शान्तिसुरक्षा खलल पुग्नेसक्ने भएकाले जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार अन्तिम मतपरिणाम नआउँदासम्म मदिराको बिक्रीवितरण र सेवनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कसैले सूचनाको अवज्ञा गरेर मदिराको कारोबार र सेवन गरेको पाइएमा कानुनअनुसार कारबाही हुने प्रशासनले जनाएको छ । प्रतिनिधिसभाका लागि एकमात्र निर्वाचन क्षेत्र र प्रदेशसभाका दुई निर्वाचन क्षेत्र तोकिएको बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता छन् ।

एक सिटका लागि ११ जना प्रतिस्पर्धामा
प्रतिनिधिसभाका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा ११ जना चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये लोकतान्त्रिक वाम–गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले पनि चुनाव जित्ने जिकिर गरिरहेका छन् । जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा छन् भने यस्तै नेकपा (एमाले)का तर्फबाट प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी र स्वतन्त्रबाट नेपाली कांग्रेसका नेता केशवबहादुर चन्द पनि प्रतिस्पर्धी बनेका छन् ।

राप्रपाबाट देवबहादुर चन्द, स्वतन्त्रबाट त्रिलोकबहादुर चन्द, नेश्नलिष्ट पिपल्स पार्टीबाट कृष्णबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशचन्द्र भट्ट, नेपाल मजदुर किसान पार्टीबाट कृष्णप्रसाद गोसाइँ, जनता समाजवादी पार्टीबाट आनसिंह भण्डारी र स्वतन्त्रबाट मानसिंह विष्ट चुनावी मैदानमा छन् ।

यसैबीच प्रदेशसभा क्षेत्र नं १ का लागि गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर विष्ट, नेकपा एमालेका सुरेन्द्र पाल, राप्रपा नेपालका कृष्णा पन्त, नेकपा एकीकृत समाजवादीका नरेन्द्र विष्ट, राप्रपाका रणबहादुर विष्ट र स्वतन्त्रबाट नेपाली कांग्रेसका हरिमोहन भण्डारी चुनावी मैदानमा छन् । प्रदेशसभा क्षेत्र नं २ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शिवराज भट्ट, नेकपा एमालेका लीलाधर भट्ट, राप्रपा नेपालका प्रेमबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीकी रेवती बोहरा र राप्रपाका नारायणदत्त जोशी प्रतिस्पर्धामा छन् । हाल उम्मेदवारले प्रचारप्रसारमा तीव्रता दिएका छन् । उम्मेदवारी धेरैले दिएको भए पनि यहाँ मुख्य प्रतिस्पर्धा भने एमाले र सत्ता–गठबन्धनबीच हुने अनुमान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्