झापा–५ : पुरानै अनुहारबीच प्रतिस्पर्धा



काठमाडौं । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ मा पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारी उम्मेदवार छन् ।

विसं २०७४ मा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो । त्यतिबेला अध्यक्ष ओलीलाई माओवादी केन्द्रको साथ थियो । उनले कांग्रेस उम्मेदवार अधिकारीलाई २८ हजार आठ सय ४२ मतान्तरले पराजित गरेका थिए । सो निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा होमिएको थियो भने यस पटक उसलाई अन्य दलको साथ छ ।

ओलीले २०७४ सालमा ५७ हजार एक सय ३९ तथा अधिकारीले २८ हजार दुई सय ९७ मत प्राप्त गरेका थिए । अघिल्लो निर्वाचनमा पनि एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन थियो । यसपटक पनि उक्त साथ कायमै छ । झापा क्षेत्र नं ५ मा स्वतन्त्रसहित २५ जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवार तथा दलका प्रतिनिधि मतदातालाई रिझाउन घरघरमा गइरहेका छन् । संविधानसभाको पहिलो निर्वाचन २०६४ बाहेक २०४८ सालयता भएका कुनै पनि निर्वाचनमा एमाले अध्यक्ष ओली पराजित भएका छैनन्। उनको झापा आगमन र घरदैलो कार्यक्रम बाक्लिएको छ । विसं २०४८ यता ओलीले यो निर्वाचन क्षेत्रमा छुट्टै विरासत कायम गर्नुभएको छ । विसं २०६४ को संविधानसभाको निर्वाचनमा भने उनीनेकपा माओवादी केन्द्रका उम्मेदवार विश्वदीप लिङ्देनसित पराजित भएका थिए ।

झापा–५ मा गत स्थानीय तहमा कमल र गौरीगञ्ज गाउँपालिकामा कांग्रेसले प्रमुख पद जितेको थियो । एमालेले गौरादह नगरपालिकामा मात्रै जितेको थियो । स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार यहाँ एमाले विगतको तुलनामा कमजोर आँकलन गरिएको छ । तथापि स्थानीय तहको जस्तो निर्वाचन नभएर आमचुनाव भएकाले त्यसले खासै असर नपार्ने विश्लेक बताउँछन् ।

वडागत रुपमा भने एमाले बलियो छ । क्षेत्र नम्बर ५ भित्र पर्ने चार पालिकामा २९ वडा छन् । गौरादह नगरपालिकाको वडा नम्बर एकदेखि सातसम्म एमालेले चार वटामा जितेको थियो । कांग्रेसले दुई वडामा तथा एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

गौरीगञ्ज गाँउपालिकामा पर्ने चार वडा वडा ९३, ४, ५ र ६० मध्ये तीनमा एमालेले जितेको थियो । दमक नगरपालिकाका–१० वडामध्ये सातमा एमाले तथा दुईमा कांग्रेस र एउटामा राप्रपा विजयी भएको थियो ।

यस्तै एमालेले कमल गाउँपालिकामा ३, ४, ६ र ७ मा वडाध्यक्ष जितेको थियो भने कांग्रेसले १, माओवादी केन्द्रले एउटा तथा एकीकृत समाजवादीले एउटामा जितेको थियो । स्थानीय तहमा एमालेले वडागत मत ४१ हजार छ सय १९ पाएको छ भने कांग्रेसले २२ हजार, माओवादीे केन्द्रले १० हजार सात सय ८८ र राप्रपाले आठ हजार तीन सय ५९ तथा एकीकृत समाजवादीले एक हजार नौ सय ८८ मत पाएको छ ।

सो क्षेत्रमा राप्रपालाई जोड्ने हो भने एमाले–राप्रपा गठबन्धनले प्राप्त गरेको मत ४९ हजार नौ सय ७८ छ । सत्ता गठबन्धनको मत ३४ हजार सात सय ७६ छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यस निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतदाता छन् । यहाँ एक लाख ५४ हजार दुई सय ८९ मतदाता छन् । दुई अन्य, पुरुष मतदाता ७६ हजार ६७ र महिला मतदाता ७८ हजार दुई सय २० छ ।

यस निर्वाचन क्षेत्रमा मतदानस्थल ६१ तथा मतदान केन्द्र एक सय ७६ कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए। यो क्षेत्र एमाले अध्यक्ष ओलीका कारण लामो समयदेखि केन्द्रीय राजनीतिको मियोका रूपमा स्थापित भएको छ । त्यसैले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं ५ मा चर्चामा छ । रासस

प्रतिक्रिया दिनुहोस्