विद्रोही, विवादित र महत्वाकांक्षाको पर्याय गगन थापा



काठमाडौं । विद्यार्थी आन्दोलनको पृष्ठभूमिबाट काँग्रेसको केन्द्रीय महामन्त्रीसम्म बनेका गगन थापा नेपालका विवादित राजनीतिक पात्रहरु मध्येकै एक हुन् । रेडियो प्रस्तोताबाट राजनीतिक क्यारियर निर्माण गर्दै अघि बढेका थापा त्रिचन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापति हुँदादेखि चर्चा र विवादको चक्करमा पर्दै आएका देखिन्छन् । उनी स्ववियु निर्वाचनमा सभापतिको उम्मेदवार उठ्ने हल्लासँगै फरक राजनीतिक विचार भएका विद्यार्थीहरुलाई भर्ना गर्न नदिने र यदि दिईए पनि कसम खुवाएर मात्रै भर्ना गर्न बाध्य बनाईएको विषय अहिले पनि चर्चा हुने गर्छ । विभिन्न विवादित परिघटनाहरुका बीचमा स्ववियु सभापति बनेका थापाले क्याम्पसको भवन ठेक्का लगाउँदा एक करोडभन्दा बढिको भ्रष्टचारमा मुछिएको विषय विद्यार्थी आन्दोलन, स्ववियुको ईतिहास र स्वयं उनको राजनीतिक चरित्र माथि नै गम्भीर प्रश्न हो । सायद उनलाई बेला बेलामा अहिले पनि यो विषयले ऐंठन गराउँदो हो ।

नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्री बनेका थापाले अध्यक्षको महत्वाकांक्षा राखेपनि पार्टीले उनलाई सो अवसरबाट रोकिदियो । यद्यपि त्यसको भित्री कारणहरु उनीहरुलाई नै थाहा हुने विषय रह्यो । नेपाली काँग्रेसको केन्द्रीय सदस्य हुँदा स्वास्थ्यमन्त्री बनेका थापाले स्वास्थ्या विमा कार्यक्रमलाई उनको राजनीतिक जीवनकै सर्वाधिक उपलब्धीको रुपमा लिएको पाईन्छ । नेपालमा स्वास्थ्य विमा कार्यक्रमको स्थापना, विकास र विस्तार गर्ने कार्यको सम्पूर्ण जस उनले लिने कोसिस गर्दै आएका छन् । तर उक्त स्वास्थ्य विमा कार्यक्रम भने राजेन्द्र महतो स्वास्थ्यमन्त्री भएको बखत प्रारम्भ भएको हो भन्ने विषयका बारेमा सायद कम मान्छेलाई मात्रै थाहा होला । यत्तिसम्म की उनले उक्त स्वास्थ्य विमा कार्यक्रमलाई स्वास्थ्य क्षेत्रको अधिक सफल कार्यक्रमको रुपमा लिदैं अमेरिकी राष्ट्रपति ओवामाले स्वास्थ्यक्षेत्रमा हासिल गरेको सफलतालाई ‘ओवामा केयर’ भने जस्तै ‘गगन केयर’ भन्ने धृष्टता समेत गरेको पाईन्छ । जबकी स्वास्थ्य विमा कार्यक्रमलाई सफल भनेपनि यो कार्यक्रम विवादबाट मुक्त छैन । स्वास्थ्य विमा बापतको करोडौं रकमको भुक्तानी विभिन्न अस्पतालहरुले दावा गरेपनि अहिलेसम्म पाएका छैनन् । आखिर नेपाली काँग्रेसको सरकार र स्वयं गगन थापा स्वास्थ्य विमा कार्यक्रमप्रति संवेदनशील नभएको कुरा यो घटनाले पुष्टि गर्छ।

कमलपोखरी पुर्ननिर्माणका सन्दर्भमा समेत उनी त्यत्तिनै आलोचित भए । उनले सांसदमा वहाल रहेकै बखत उक्त पोखरीको पुननिर्माणको कार्यलाई रोक्नका लागि चेतावनीसहित काठमाडौ महानगरमा पत्रै पठाए । गगन थापाले क्रिकेट मैदानलाई आफूले गरेको विकासको उदाहरणको रुपमा लिने गरेका छन् ।विडम्वना ! विकासप्रति वास्ता  र गम्भीरता हुँदो हो त लथालिंग क्रिकेट मैदानले मुहार फेरिसकेको हुन्थ्यो । राजन भट्टराईले ल्याएका विकास परियोजनाहरुलाई आफूले ल्याएको भनेर दावा गर्दै आएको विषयले उनीमाथि नैतिक रुपमा प्रश्नहरु उठिरहेका छन् ।

अर्कोतर्फ, प्रतिपक्ष नेकपा (एमाले) र बहुसंख्यक जनताको तीब्र विरोधका बीच वर्तमान् सत्ता गठबन्धनले अमेरिकी परियोजना एमसिसि पारित गर्ने सन्दर्भमा गगन थापाले एमसिसिको पक्षमा संसदमा दिएको मन्तव्य निकै विवादित रह्यो । उनले यदि एमसिसि पारित भएपछि नेपालमा अमेरिकी सेना आएमा आफूलाई चारपाटा काटेर थानकोट कटाईयोस् भन्दै अमेरिकी सरकारको प्रवक्ता झैं एमसिसिको प्रतिरक्षा गरे । त्यस लगत्तै नेपालमा निरन्तर भैरहेको अमेरिकी कुटनीतिज्ञहरुको उपस्थिति, नेपाली सेनासँग अमेरिकी सेनाले गरेको संयुक्त अभ्यास र एसपिपि सम्झौता गर्न दिएको निरन्तर दबाबबाट नेपाललाई टेकेर अमेरिकाले दक्षिण एसियाली भूमीमा उसले आफ्ना स्वार्थहरु पूरा गर्न चाहेको देखिन्छ । नेपाली भूमिलाई खेल मैदानको रुपमा अमेरिकीहरुले लिएको पुष्टि हुँदै गएको छ ।

त्यसैगरी काँग्रेस नेतृत्वको सत्ता गठबन्धनको सरकारले भारतीय स्वार्थलाई पूरा गर्न ल्याएको नागरिकता विधेयक विरुद्ध पनि गगन थापा चुँईक्क बोलेको कहिँकतै देखिएन । आखिर राष्ट्र, राष्ट्रियता र देशको रक्षाको प्रश्न आउने बित्तिक्कै गगन थापा सार्वजनिक मञ्च र संसदमा किन बोल्दैनन्? यो गम्भीर प्रश्न हो । नेपालको हित विपरितका सम्झौता गर्ने बेलामा सबैभन्दा अघि सर्ने थापा त्यसका नकरात्मक परिणामहरुप्रति कहिल्यै गम्भीर बनेको देखिँदैन । उनको यस्तो प्रवृत्तिले उनीमाथि विदेशीको एजेण्टका रुपमा सार्वजनिक रुपमा लाग्दै आएका आरोपहरुलाई झनै मलजल गर्ने देखिन्छ ।

राजनीतिक सेलिब्रेटीको छवि निर्माृण गरेका थापाले राष्ट्रिय मिडियाहरुलाई उपयोग गर्दै आफ्नो राजनीतिक क्यारियरलाई अघि बढाउँदै आएको कुरा सार्वजनिक वृत्तमा चर्चा छ । उनी आफ्ना विरोधीहरुमाथि अनर्गल प्रचार गरि मनोवैज्ञानिक दवावमा राख्न उत्तिकै माहिर छन् भन्ने उनकै राजनीतिक सारथीहरु बताउँछन् । राम्रा कामको जस आफू लिने र नराम्रा कार्यहरुको अपजस अरुलाई बोकाउने उनको पुरानै बानी रहेको काँग्रेसीहरु नै बताउँछन् । व्यापार व्यवसायमा त्यत्तिसारो सफल नदेखिएका थापा राजनीतिमा चाहिँ विभिन्न परिघटनाका बचि सफल हुँदै गएका छन् । उनको राजनीतिक महत्वाकांक्षा अनुरुप उनी निरन्तर अघि बढिरहेको देखिन्छ ।

अहिलेको निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ को प्रतिनिधिसभाका प्रत्यक्ष तर्फका उम्मेदवार रहेका थापाले आफूलाई प्रधानमन्त्रीको बलियो दाबेदारको रुपमा जनता समक्ष प्रस्तुत गर्दै आईरहेका छन् । जबकी उनीजस्तै सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलका अधिकांश नेतृत्वपंक्तिले चुनावी प्रचारका क्रममा आफूलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्याएको देखिन्छ । संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक सदस्य प्रधानमन्त्रको दाबेदारका लागि योग्य हुने भएपनि निर्वाचन जित्नकै निम्ति आफूलाई फगत् प्रोपोगान्डा गरिनु युक्तिसंगत होईन । आफ्नो निर्वाचन क्षेत्रको विकास र जनताको माग अनुरुप कार्य गर्न नसक्नेले प्रतिष्पर्धी उम्मेदवारलाई मनोवैज्ञानिक हिसाबले दबाबमा राख्ने नियतबाट प्रधानमन्त्री पदको आकांक्षीको रुपमा उनले प्रचार गरेको बुझ्न कठिन छैन । ता की निर्वाचन जित्नका लागि प्रधानमन्त्रीको प्रोपोगान्डालाई एउटा हतियारको रुपमा उपयोग गर्न सकियोस्।

सत्ता गठबन्धनभित्रका काँग्रेस र एमाओवादीको शीर्ष नेतृत्वको बीचमा सहमतिका आधारमा निर्वाचनपछि सत्ताको नेतृत्व गर्ने विषय बाहिर आईसकेको छ । गठबन्धनकै शेरबहादुर देउवा र प्रचण्डसँगै शेखर कोईराला, माधवकुमार नेपाल, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, वालकृष्ण खाँणहरु समेत प्रधानन्त्रीको दाबेदारका रुपमा प्रस्तुत भएका छन् । जबकी प्रधानमन्त्रीको दाबेदारीका निम्ति पार्टीको आन्तरिक र राजनीतिक समीकरणले पनि प्रभाव पार्नेगर्छ । हुन त अरुले नै प्रधानमन्त्री बनाईदिने अभ्यासको विकास गरेको सत्ता गठबन्धनमा गगन थापाहरु कसैको आर्शिवादमा प्रधानमन्त्री हुन सक्ने सम्भावनालाई नकार्न सकिदैंन । जबकी काँग्रेसको आन्तरिक कमिटीमा बयासी प्रतिशत देउवाको होल्ड रहेको छ । देउवा पक्षका सतहत्तर प्रतिशत उम्मेदवारले टिकट पाएका छन् । काँग्रेसमा प्रधानमन्त्रीको दाबी गर्ने देउवा निर्विकल्प पात्र देखिन्छन् । तसर्थ, गगन थापाहरुले चुनावी नतिजालाई आफ्नो पक्षमा पार्नकै निम्ति प्रधानमन्त्रीको कार्ड प्रयोग गरेको देखिन्छ । जुन विल्कुल असान्दर्भिक छ । नेपालमा यस्तो झुटको सहारामा गरिने राजनीतिले मुलुक र जनतालाई हानि गर्छ, गर्छ । राजनीतिमा रहेका यस किसिमका पात्र र प्रवृत्तिलाई बेलैमा बुझ्न सकिएन भने देश भयंकर संकटमा फस्ने निश्चित छ ।

अन्त्यमा, यो निर्वाचनमा एमाले वा त्यसका उम्मेदवारले जिते मात्रै देशले जित्ने छ । त्यसका लागि कसैगरी सत्य, इमान र विकासका पर्याय डा.राजन भट्टराईजस्ता सत् पात्र र एमालेको पक्षमा निर्वाचनको परिणाम आउनु अपरिहार्य छ । सिद्धान्तहीन, अवसरवादी र विदेशी शक्तिको सेवामा समर्पित सत्ता गठबन्धनलाई पराजित गर्नु अहिलेको मुख्य कार्यभार बन्न गएको छ । सत्ता गठबन्धनले एमालेका विरुद्ध फैलाएका अफवाहहरुलाई चिर्नु र श्रद्धेय मनमोहन अधिकारी तथा ओलीकालीन सरकारले गरेका ऐतिहासिक कार्यहरुलाई जनतासम्म स्पष्ट रुपमा पुर्याउनु अनिवार्य छ ता की एमाले विरुद्ध पैदा गरिएका भ्रमहरुलाई हटाउन सकियोस् ।

यो पनि पढ्नुहोस्

डा. राजन भट्टराई : विकास, कुटनीति र देशभक्तिका त्रिवेणी

प्रतिक्रिया दिनुहोस्