प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको जित



काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई पराजित गर्दै विजयी हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पुलिसले मधेस प्रदेशलाई १९१ रनले पराजित गर्दै विजयी हासिल गरेको हो ।

खेलमा दुवै टोलीले सेमिफाइनल यात्रा तय गरेका छन् । जितसँगै पुलिस समूह बिको विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने मधेश प्रदेश समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । खेलमा जितको लागि पुलिसले मधेश प्रदेशलाई २७४ रनको लक्ष्य दिएको थियो । जवाफमा मधेस प्रदेश २९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो ।

मधेश प्रदेशका लागि मोहमद आदिल आलमले सर्वाधिक ४२ रनको योगदान दिए । त्यसैगरी रत्न रौनकले ११ तथा कप्तान हरिसङ्कर शाहले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् । मधेस प्रदेशलाई सस्तैमा समेट्नेक्रममा पुलिसका कुलश भुर्तेल एक्लैले ५ विकेट लिए भने करण केसीले ३ तथा राशिद खानले २ विकेट झारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २७३ रनको योगफल बनाएको थियो । पुलिसका लागि आरिफ शेख, अमित श्रेष्ठ र कप्तान दीपेन्द्र सिहं ऐरीले अर्धसतक प्रहार गरे । आरिफले सर्वाधिक ७३ रनको योगदान दिए भने अमितले ६५ रनको योगदान दिए ।

त्यसैगरी दीपेन्द्रले ५१ रन जोड्दा दीलीप नाथले ४० तथा सुनिल धमलाले ११ रन बनाए । बलिङतर्फ मधेश प्रदेशका रुपेश सिंह र राजेश यादवले समान ३÷३ विकेट लिए भने आदील आलमले २ विकेट झारे । जितसँगै पुलिसले चार खेलमा अपराजित रहदै ८ अङक जोड्यो भने समान चार खेल खेलको मधेश प्रदेशले पाँच अङ्क बनायो । रासस

प्रतिक्रिया दिनुहोस्