विष्णु पौडेलले सार्वजनिक गरे प्रतिबद्धतापत्र



काठमाडौँ । रुपन्देही २ मा एमालेबाट उम्मेदवार बनेका विष्णु पौडेलले महत्वाकांक्षी र ठूला योजनाहरू समेटेर प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । बुटवलमा अइतबार प्रतिबद्धतापत्र सार्वजनिक गर्दै पौडेलले प्रतिबद्धता सुनाउन नभइ कार्यान्वयन गर्न ल्याएको बताएका छन् ।

प्रतिबद्धतापत्रमा पौडेलले सम्पन्न भइसकेका, निर्माणाधीन र नयाँ आयोजनाहरुलाई पनि समेटेका छन् । कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने प्रतिबद्धता उनले पुनः दोहोर्‍याएका छन् । यसलाई उनले ड्रिम प्रोजेक्टका रुपमा यसअघि नै अगाडि बढाएका थिए । ‘सिँचाई, जलविद्युत्, पर्यटन, खानेपानीका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रस्तावअनुसार निर्माण अघि बढाइने छ’ उनको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

प्रतिबद्धतापत्रमा बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने उल्लेख छ । पौडेलले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा तिलौराकोट, रामग्राम, देवदह, सैनामैनालगायत ऐतिहासिक एवं पुरातात्विक महत्वका बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन, संरक्षण र विकास गरिने उल्लेख गरिएको छ ।

यस्तै, बृहत् लुम्बिनी क्षेत्र अन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोडिने छ र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गरिने जनाइएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरिने, आयोजनाको दोस्रो चरणअन्तर्गत अत्याधुनिक अन्तर्राष्ट्रिय टर्मिनल भवन, समानान्तर ट्याक्सी वे लगायत पूर्वाधार निर्माण गरिने उल्लेख छ । यस विमानस्थलबाट संसारका विभिन्न मुलुकमा सुविधाजनक हवाई यात्रा र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने व्यवस्था मिलाइने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्