माफ गर्नुस् गगन दाई, मेराे भाेट यो पल्ट डा.राजन भट्टराईलाई



काठमाडौं ।…..अनि मैले काठमाडौं क्षेत्र नं. ४ का सांसद गगन थापा सम्झें र उँहाका प्रमुख सारथी ४(१) का जनप्रतिनिधि नरोत्तम वैद्य र  काठमाडौं महानगरपालिका  वडा नं. ३० का अति वरिष्ठ वडा अध्यक्ष दल बहादुर कार्की सम्झें । नेपालको प्रमुख शक्तिपीठहरु मध्ये एक मैतिदेवी आमाको क्षेत्रमा अवस्थित एकमात्र भोजघर (भ्वे छें) को दुरावस्था हेरेर म मात्र होइन् हिजो हाम्रो पूजामा आएका सबै ३०० जना जति अतिथिहरु निकै नै खिन्न भयौं ।

मैतिदेवी क्षेत्र प्रबन्ध समिति, सम्बन्धित गूठीका टोली, कामनपा वडा नं. ३० का जनप्रतिनिधि लगायत विगत १५/२० वर्षदेखि यस क्षेत्रका बासिन्दाको ‘अमूल्य मत’को अवमूल्यन गर्दै धर्म संस्कृति, सम्पदालाई वेवास्ता गरिरहेका जनप्रतिनिधिलाई बाजा बजाएर डाँडो कटाउनुको बिकल्प मैले देखिन् । यो कुरा होस् गर्नुस, जित हासिल गर्नु मात्रै ठूलो कुरा होइन् नागरिक अनि मतदाताको मनमा बस्न सक्नुपर्छ । के अझै पनि हामी यो पार्टी, त्यो पार्टी भनेर बस्ने हो ? बाजे बाउले रुखमा भोट हाल्यो भन्दैमा हामीले पनि रुखमै भोट हाल्नुपर्ने हो र ?

उज्ज्वल थापा अनि विवेकशील नेपालीको राजनीतिक संस्कारमा हुर्केको हामीले छोटो समयमै राजनितिमा मिठो धक्का दिएको स्मरण गराए । २०७४ सालको स्थानीय चुनावमा यस कामनपा ३० को तेस्रो राजनीतिक शक्तिलाई प्रतिनिधित्व गर्ने योद्धा अनि २०७४ कै संघीय चुनावमा काठमाडौं क्षेत्र नं.४ को तेस्रो, ४(१) को तेस्रो अनि वडा ३० को पहिलो राजनीतिक शक्तिलाई प्रतिनिधि गर्ने प्रमुख योद्धा थियौं हामी ।

काठमाडौं क्षेत्र नं. ४ का मतदाताहरुले अब नेतृत्व फेर्ने दिन आइसकेको छ । दाई गगन थापाको भाषण अनि ब्यक्तित्व हेरेर म पनि प्रभावित हुन्छु, तर यो पल्ट परिवर्तन आवश्यक छ, डा. राजन भट्टराईले म अनि हजारौं विवेकशील युवा, मतदाताहरुको मन जितिसकेको छ । पहिलेको चुनावमा जीत हासिल नगरे पनि आफ्नो क्षेत्रको विकास अनि समस्या समाधान गर्नको निम्ति गगन दाई भन्दा एक कदम अगाडि नै छन् । वितेका ५ वर्षमा मात्रै डा.राजन भट्टराईले काठमाडौं–४ मा ८ अर्व ३० करोड २३ लाखका परियोजना ल्याएका रहेछन् ।

माफ गर्नुस् गगन दाई तपाईं हामी त एउटै वडा अनि एउटै टोलको, अन्यथा नलिनुहोला यो मनको बेदना पोखिरहँदा मैले मेरा मनबाट बगिरहेका भावहरुलाई थाम्न सकिरहेको छैन । हजुरमाथि लगाईएका बिभिन्न आरोपको मलाई खासै बिश्वास त लाग्दैन तर यो पल्ट डा.राजन भट्टराईले अवसर पाउँदा तपाईं हाम्रो क्षेत्र अनि समग्र राष्ट्रलाई फाइदा नै हुनेछ । अर्काे पल्टलाई फेरि हजुरको कामको सहि मूल्याकंन गरी साथ सहयोग गर्नेबारे सोच्न सकिएला तर कृपया यो पल्ट २०७९ मङ्सिर ४ मा काठमाडौं क्षेत्र नं. ४ का नागरिक र मतदाताले सूर्य ध्वजा बाहक नेकपा एमालेका बौद्धिक, बिकासप्रेमी, सालिन ब्यक्तित्व डा. राजन भट्टराईलाई कुरिरहेका छन् ।

अमृत राज वैद्य
ज्ञानेश्वर-३०

प्रतिक्रिया दिनुहोस्