धादिङ–२ मा यस्तो छ कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा



काठमाडौं । धादिङ क्षेत्र नं २ मा आसन्न निर्वाचनको माहोल बेस्सरी तातेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यासी उम्मेदवार चुनावी घोषणापत्र बोकेर मतदाताको घरघर पुगिरहेका छन् । धादिङ–२ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी र नेकपा (एमाले)बाट खेम लोहनीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

कांग्रेसका अधिकारीलाई नेकपा (माओवादी केन्द्र) र एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) तथा नेपाल समाजवादी पार्टीको साथ रहेको छ । एमालेका उम्मेदवार लोहनीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले साथ दिएको छ । यसो त यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बसुमाया तामाङ, नेपाली कांग्रेस बिपीबाट शङ्कर दर्जी, जनता समाजवादी पार्टी नेपालबाट मेकरमान तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट धनमाया तामाङ प्रतिस्पर्धामा छन् । मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमालेकै उम्मेदवारबीच हुने देखिएको छ ।

नीलकण्ठ नगरपालिका नं १२ का कुलप्रसाद ढकालले भने, “एउटै व्यक्तिलाई धेरै पटक भोट हालियो, हाम्रा चार पुस्ताले एउटै उम्मेदवारलाई जितायौँ तर गाउँको विकासले मुहार फेर्न सकेन ।” विगतमा तीन वटामा निर्वाचन क्षेत्र रहेको जिल्लामा सङ्घीयतापछि राज्य पुनःसंरचना गर्दा दुई वटा निर्वाचन क्षेत्र भएको छ । तीमध्ये पृथ्वीराजमार्गदेखि दक्षिणको महाभारत सिमानालाई जोडेर एउटा क्षेत्र नं १ र जिल्ला सदरमुकामदेखि उत्तरको हिमाली भेगलाई समेटेर क्षेत्र नं २ बनेको छ । एउटा प्रतिनिधिसभा क्षेत्रभित्र दुई वटा प्रदेशसभा क्षेत्र छ । क्षेत्र नं २ मा नीलकण्ठ नगरपालिकासहित ज्वालामुखी, त्रिपुरासुन्दरी, गङ्गाजमुना, नेत्रावती डबजोङ, खनियाबास र रुविभ्याली गाउँपालिका पर्दछ । सो क्षेत्रमा एक लाख ३६ हजार सातसय ४२ मतदाता छन् ।

जिल्ला निर्वाचन कार्यालय धादिङको तथ्याङ्कअनुसार प्रदेशसभा (क) मा ७२ हजार चार सय १४ र प्रदेशसभा (ख) मा ६४ हजार तीन सय २८ मतदाता छन् । सङ्घीयतापछिको पहिलो संसदीय निर्वाचनमा यस क्षेत्रबाट एमालेका नेता खेमप्रसाद लोहनी विजयी भएका थिए । कांग्रेसका नेता दिलमान पाख्रिनलाई छ सय ४० मतले पराजित गर्दै लोहनी विजयी भएका हुन् । लोहनीलाई तत्कालीन अवस्थामा नेकपा माओवादी केन्द्रको साथ थियो । यसपटक पनि उम्मेदवारी दिएका सवै व्यक्ति र दलले आफूले नै विजय हासिल गर्ने बताइरहँदा गठबन्धनकोतर्फबाट कांग्रेस र राप्रपासँग तालमेलमा रहेको एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले पाएको मतका आधारमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा कुन उम्मेदवार कति बलियो भन्ने लेखाजोखा निकाल्न सकिन्छ ।

यस्तो छ धादिङ–२ को लेखाजोखा

धादिङमा रहेका कूल एक सय चार वडामध्ये ५१ वडा रहेको सङ्घीय क्षेत्र नं २ मा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अधिकांश वडामा राजनीतिक दल एक्लाएक्लै प्रतिस्पर्धा गरेका थिए । एमालेले ५१ वटै वडा, कांग्रेसले ४३ वडामा र माओवादी केन्द्रले ३४ वडामा आफ्नो उम्मेदवार उठाएको थियो । त्यस्तै एकीकृत समाजवादी पार्टीले २४ वडा, राप्रपाले ४६ वडा र जनता समाजवादी पार्टीले १३ वडामा आफ्नो उम्मेदवार उठाएको थियो । तीमध्ये कांग्रेस २२ वडामा विजयी हुँदा माओवादी केन्द्र १० वडामा विजयी भएको थियो भने एमालेले आठ वटा वडामा विजय हासिल गरेको थियो ।

त्यस्तै राप्रपाबाट चार, स्वतन्त्रबाट तीन, जनता समाजवादीबाट एक र एकीकृत समाजवादीबाट तीन जना उम्मेदवार वडामा विजयी भएका छन् । जितेका र हारेका सबै वडा अध्यक्षले पाएको मत जोड्दा यस निर्वाचन क्षेत्रमा कांग्रेस २९ हजार नौ सय ६५ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ । त्यस्तै एमालेले २५ हजार नौ सय ३८ मत पाउँदा माओवादीले १४ हजार तीन सय ८० मत पाएको थियो । त्यस्तै राप्रपाले पाँच हजार दुई सय ८७ मत र नेकपा एकीकृत समाजवादीले तीन हजार चार सय ५६ मत पाएका छन् । त्यस्तै स्वतन्त्रलगायत अन्य साना दलले चार हजार नौ सय ४४ मत पाएका छन् । स्वतन्त्रबाट विजयी भएका तीनवटै वडामा नेपाली कांग्रेसकै वागी उम्मेदवार रहेकाले स्वतन्त्र उम्मेदवारले पाएको आधाजसो मत नेपाली कांग्रेसकै मत हुनसक्छ ।

सत्ता गठबन्धनमा रहेका दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका वडाध्यक्षले पाएको मत जोड्दा ४७ हजार आठ सय एक हुन आउँछ । त्यस्तै एमाले र राप्रपाका वडाध्यक्षले पाएको मत जोड्दा ३१ हजार दुई सय २५ मत हुन आउँछ । नेपाल समाजवादी पार्टीको पनि सत्ता गठबन्धनलाई नै साथ रहेकाले तत्कालीन जसपा र हाल नेसपाले पाएको भोट एक हजार ६० समेत जोड्दा जिल्लामा सत्ता गठबन्धनका उम्मेदवार अधिकारी १७ हजार छ सय ३६ मतले अगाडि देखिएका छन् । सत्ता गठबन्धनका उम्मेदवार अधिकारीलाई यही अग्रताको मतान्तर विजयी हुने आधार हुनसक्छ भने राप्रपा–एमाले गठबन्धनका उम्मेदवार लोहनीलाई यही मतान्तर हारको बाटो हुन सक्छ ।

कांग्रेसका उम्मेदवार अधिकारीले आफ्नो इमान्दारिता, त्याग र जनताप्रतिको उत्तरदायी बन्ने प्रवृत्तिले थप सहानुभूतिको भोट प्राप्त गरेर विजयी हुने दावि गर्छन् । उनले भने, “गठबन्धनको आशले मात्रै मैले उम्मेदवारी दिएको होइन, मेरो सक्रियता, इमान्दारी र जनताप्रतिको मेरो सेवाभावले मेरो आफ्नै व्यक्तिगत भोट आउनेमा विश्वस्त छु, मेरो जीत निश्चित छ ।” स्थानीय तहको निर्वाचनमा जसरी संसदीय निर्वाचनमा भोट नखस्ने र गठबन्धन दलमा भएको केही असहमतिका भोट ल्याएर चुनाव जित्ने रणनीतिमा एमाले छ । एमाले उम्मेदवार लोहनीले भने, “मेरो चुनाव जित्ने आधार भनेकै विगतमा मैले गरेको काम हो ।” दुवै प्रतिस्पर्धीले पार्टीभित्रको असन्तुष्टि समाधान गर्नसकेमा प्रतिस्पर्धा थप रोचक हुने देखिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्