सकियो पहिलो चरणको निर्वाचन सामग्री ढुवानी



काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी भइसकेको छ।

यीमध्ये डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी भइसकेको छ भने बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने कार्यक्रम रहेको निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

हालसम्म आयोगले ९३ ट्रक सामान ढुवानी गरिसकेको छ। दोस्रो चरणमा धेरै जनसङ्ख्या र निर्वाचन क्षेत्र भएका तराईका जिल्लामा सामग्री ढुवानी गरिने भएको छ।

सात जिल्लाको मतपत्र छपाइ बाँकी
निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत सात जिल्लाको मात्र मतपत्र छपाइ हुन बाँकी छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको सबै मतपत्र छपाइ सम्पन्न भएर ७५ जिल्लामा ढुवानीसमेत भइसकेको छ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत अब काठमाडौं, ललितपुर, भक्तपुर, बारा, धनुषा, सर्लाही र रौतहट जिल्लाको मतपत्र मात्र छपाइ हुन बाँकी रहेको छ।

यी जिल्लामा करिब ८४ लाख मतपत्र आवश्यक पर्नेछ।

आयोगले हालसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि करिब चार करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि तीन करोड चौध लाख ५६ हजार पाँच सय मतपत्र छपाइ गरिसकेको छ।

गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, प्यूठान, रोल्पा, दाङ, सल्यान, रूकुमपश्चिम तथा रूकुमपूर्वका मतपत्र ढुवानीसमेत भइसकेको छ। रासस

प्रतिक्रिया दिनुहोस्